www.tandavnews.com
Fact ~ In search of truth

विवाहमा डिजेको विषयमा लफडा, विवादपछिको कुटपिटमा एक युवकको मृत्यु

राजविराज।
सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए ।

Batas

जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताउनुभयो ।

बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुनसक्ने उनको आरोप छ ।

विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उहाँको बुबाको भनाइ छ । पासवानको विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.