www.tandavnews.com
Fact ~ In search of truth

देशैभर डेंगुको संक्रमण बढ्दै

काठमाडौँ 
हुम्ला र मुस्ताङबाहेक हाल काठमाडौँ उपत्यकासहित देशका ७५ जिल्लामा डेंगुको प्रकोप देखिएको छ ।

यस अवधिमा १३ हजार बढी मानिसमा डेंगुको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगुको नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रमका साथै आपत्कालीन अवस्थाका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Batas

अहिले देशका दुई जिल्ला बाहेक ७५ वटा जिल्लामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर जिल्लामा सबैभन्दा बढी डेंगुका संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका प्राय सबै अस्पतालमा यतिबेला डेंगुका बिरामीहरूको चाप बढिरहेको छ । कतिपय संक्रमित नीजि अस्पताल तथा क्लिनिकमा जाने गरेकाले पनि तथ्याङ्क कम देखिएको हुनसक्ने भन्दै घरघरमा डेंगुका संक्रमित रहेको र नियन्त्रणमा पहल नगर्ने हो भने अवस्था जटिल हुनसक्ने बताउनुहुन्छ जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले बताए।

डेंगु सर्न नदिन र यसको संक्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सबैलाई जानकारी गराउन आवश्यक रहेको पनि जनस्वास्थ्य विद्हरूको धारणा छ ।

कतिपय अवस्थामा घरका सदस्य संक्रमित हुँदा सर्ने डरले घरपरिवारका अन्य सदस्यहरूमा डर देखिएको पाइएकाले यो कसरी सर्छ भन्ने बारे जनचेतना जगाउनु पनि महत्त्वपूर्ण देखिन्छ । यसको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको प्रयासमा सरोकारवाला निकायहरूको साथ र समन्वयबाट अगाडी बढ्नुपर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको भनाई छ ।

डेंगु रोगको नियन्त्रणका लागि सबैभन्दा पहिले लामखुट्टेको नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि सबैले आफ्नो घर र वरपर लामखुट्टे लाग्न नदिन बेला बेलामा सरसफाइ गर्नुका साथै डेंगु रोग सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्ने भएकाले वरिपरि पानी जम्न नदिने गरी व्यवस्थापन गर्नु आवश्यक छ ।

यसका लागि सरकारले स्थानीय तहहरूसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, बजेटको व्यवस्था, डाक्टरहरूलाई तालिम तथा अन्य अन्तरक्रिया कार्यक्रम र अस्पतालमा बेडको व्यवस्था लगायत सबै तयारी गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिए।

उनले भने, संक्रमितहरु मध्ये सबैलाई अस्पताल भर्ना हुन नपरेपनि यसको सङ्क्रमणले ब्लड प्रेसर लो हुने, बेहोस हुन सक्ने र यदि जटिल अवस्था आएमा रक्तश्राव समेत हुनसक्ने भएकाले सचेत रहनुपर्ने हुन्छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण हुँदा लगातार ज्वरो आउने, शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म हुने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिने गर्दछ ।

खासगरी यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा वा कार्यालय जाँदा पनि शरीरको सबै भाग ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.