www.tandavnews.com
Fact ~ In search of truth

कास्की –३ प्रतिनिधिसभा निर्वाचन : ‘जीवन’ र ‘बैरागी’ बीचमा प्रतिष्पर्धा

पाेखरा।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ ।

कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले)का दमोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन् । एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन हो भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार हुन।

सिट बाँडफाँटमा कास्कीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजपादी र माओवादीले एक/एक सिट पाएको थियो । सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुन। उनी प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिष्पर्धामा छन् भने पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

Batas

सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए। विसं २०७४ मा उनले माओवादीको साथ पाएर चुनाव जितेका थिए। उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए। त्यसबेला विश्वकर्माले ३२ हजार छ सय ९० मत ल्याएर जित्दा शर्माले २४ हजार तीस सय चार मत ल्याएका थिए । करिब आठ हजार तीस सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेले यो पटक पनि चुनाव जित्ने दाउमा छ ।

आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ । अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ । महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा जितेका थिए ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार आठ सय पाँच मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार आठ सय ४६ मत प्राप्त गरेका थिए । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार चार सय र एकीकृत समाजवादीका वडाध्यक्षले पाँच सय एक मत पाएका थिए ।

कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क) मा ५२ हजार आठ सय ६२ र प्रदेशसभा (ख) मा ४८ हजार आठ सय ५३ मतदाता छन् । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उनका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा सात जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.