www.tandavnews.com
Fact ~ In search of truth

रेम र राजारामलाई ‘जितप्रसाद द्धा चलचित्र पत्रकारिता पुरस्कार’

पाेखरा।
‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।

लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम र राजाारामलाई क्रमशः जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्व अध्यक्ष हुन् भने राजाराम संघका सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गरेका थियौं । दोस्रो र तेस्रो पुरस्कार संघका पूर्व अध्यक्ष र सल्लाहकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले भने,‘यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जितप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए ।

Batas

संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको सँयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार रेम र राजारामलाई पुरस्कार प्रदान गर्ने गरि संघको माघ १९ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।

जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ सालदेखि प्रदान गर्न सुरु गरेको थियो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो । गिरीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि संस्थाबाट राजीनामा दिएका थिए ।

२०६५ सालबाट बिग एफएमबाट पत्रकारिता शुरु गरेका रेम र २०६० सालबाट हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् ।हाल रेम मेनसमाचार डटकम र राजाराम रेडियो अन्नपूर्णमा आबद्ध छन् ।

पुरस्कारदाता द्वा परिवारले चलचित्रको उत्थानका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न आफ्नो परिवारको नाममा पुरस्कार स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । ‘हामी तेस्रो पुस्तासम्म यही चलचित्र व्यवसायमै छौँ । चलचित्रकर्मीलाई पत्रकारिताको माध्यमबाट सदैव सहयोग गर्ने पत्रकारहरुलाई हौसला प्रदान गर्ने गरि पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको अभियानसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’ पुरस्कारदाता द्वा परिवारका सदस्य तथा मिडटाउन सिनेमाज्का संचालक उत्तम द्वाले भने,‘चलचित्र पत्रकारहरुसँगको यो सहकार्य हाम्रो परिवारले सँधै गरिरहनेछ ।’

पुरस्कारदाता जितप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुन् । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हालेका थिए । हाल उनको नाती पुस्ताले यो व्यवसायलाई विस्तार गरिरहेको छ । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन् । त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.