www.tandavnews.com
Fact ~ In search of truth

‘मलाई नेपाली गीत गाउने रहर छ’ : गायक अमित पल

काठमाडौँ ।
सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए।

त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए । त्यही शोको उपविजेता थिए अमित पल ।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे। ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका सबैले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो । गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको प्रस्ताव आएपछि गीत गाएका थिए। उनी नेपालमा काठमाडौँसँगै पोखरा, चितवनलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाए।

Batas

“मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु । ‘कान्छी रे कान्छी रे’, ‘रातो रानी फूले झैँ साँझमा’ लगायतका गीत सुनेर खाना खान्थेँ । कन्सर्टमा घुमेपछि अझै नेपालीलाई बुझ्ने मौका पाएँ”, गायक पलले भने, “नेपाली गीत प्रस्ताव हुँदा गाएँ । साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आएँ । नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन ।”

गायक पल केही दिनअघिदेखि नेपालमा छन्। प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठूलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन यहाँ आएका हुन्। उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौँमा छन्।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हाल काठमाडौँमा भइरहेको शोले विश्वभरका नेपालीलाई एउटै मालामा उन्न सफल भएको गायक पलले बताए। “ठूलो धनराशि त छ नै साथै अवसर पनि छ । विजेताले विश्व भ्रमण गर्न पाउनुहुनेछ । पाश्र्व गायनको अवसर छ । यसले प्रतिभालाई अगाडि बढाउन मदत गर्छ”, गायक पलले भने, “हाम्रो समयमा यस्ता सुविधा थिएनन् । त्यसैले हामीले बुझ्दा बुझ्दै समय गयो । तर यो शो हेर्दा नेपाली गायनमा धेरै प्रतिभा उदाउने देखेको छु । यसका आयोजकहरु वास्तवमै धन्यवादका पात्र हुन् ।”

‘मेरो भ्वाइस युनिभर्स’ को केही अडिसन र प्रतियोगीसँगको साक्षात्कारपछि उनले निर्णायकलाई छान्न मुस्किल हुने देख्छन् उनले भने, “प्रतिभा निकै छन् । उनीहरूमा कसलाई राख्ने र निकाल्ने निर्णय लिन सहज छैन किनकी गायन उस्तै छ ।” आफू झैँ गायन वा नृत्यमा भविष्य देख्नेका लागि निर्माण भएको मञ्चकै कारण गायक पल हौसला प्रदान गर्न नेपाल आएका हुन्।

उनले गायन र नृत्यमा छानिने पचास÷पचासलाई मञ्चअनुसार तयार गर्न सुझावसमेत दिएका छन्। “स्टेजमा गाउनेले नाच्न सक्नुपर्छ । नाच्नेले अभिनय गर्न सक्नुपर्छ । उनीहरू गायक र नृत्य कलाकार मात्र नभई पर्फमर हुनुपर्छ”, गायक पलले भने।

गायक शेर्पाले यस्ता शोमार्फत अवसर पर्खिरहेकाले गन्तव्य पाउने बताए। “मैले निकै सङ्घर्ष गरेर सारेगमपा सिङ्गिङ सुपरस्टारसम्म पुगेको थिएँ । मैले पाइरहेको असफलतालाई खुड्किलो बनाएर सफलतासम्मको यात्रा तय गरेको हुँ । त्यसैले नेपाल आएर सहभागी प्रतियोगीलाई हौसला दिइरहेको छु”, गायक शेर्पाले भने, “निरन्तरता दिनेलाई यो मञ्चले पहिचान दिनेमा विश्वत छु । छिटै उहाँहरू सपनाको उडान भर्नु हुनेछ ।” नेपाल आएर काठमाडौँ घुमघामसँगै सङ्गीतकर्मीसँग भेटघाटसमेत बढेको छ गायक पलको ।

केही समय सङ्गीतभन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी गरिरहेका छन्। उनी नेपालमै गीत तयार गर्ने तयारीमा समेत छन्। “मैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु । म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु । मैले सोचेजस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु”, गायक पलले भने, “मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ । यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ । तर अहिले एउटाको मात्र तयारी छ ।”

अझै केही दिन नेपालमै रहने गायक पल पशुपतिनाथ र बौद्ध पुगे। नेपालमा उनलाई थकाली खाना एकदमै मन पर्छ । नेपाली खाना र संस्कृतिसँग अझै नजिक आउन गायक शेर्पाले मद्दत गरिरहेका छन्। गायक पल र शेर्पा आशावादी रहेको शो ‘मेरो भ्वाइस युनिभर्स’ को यतिखेर ‘साइटलेस’ अडिसन चलिरहेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.