www.tandavnews.com
Fact ~ In search of truth

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ अन्तर्राष्ट्रिय कार्यक्रम जेठ अन्तिम साता

काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ ।

राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुकका यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी देखिएका रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Batas

पहिलो पटक शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१४ मा इटालीबाट सुरु गरिएको थियो । नेपालले विश्वशान्ति स्थापनाका लागि गरेको प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ मातहतको सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयका साथै शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञ समेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहनेछ ।

गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ ।

राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्‍याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५७ सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनको कार्यादेशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा उक्त कार्यक्रम महत्वपूर्ण सावित हुनेछ ।

यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा यस्तो कार्यक्रम भएको थियो ।

विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो बरीयतामा छ । विश्व शान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ता खाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि यो गोष्ठी महत्त्व पूर्ण रहने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ मुख्यालयका साथै करिब ५० भन्दाबढी राष्ट्रको प्रतिनिधित्व हुने नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव स्तरका प्रतिनिधिको सहभागिता रहनेछ ।

नेपाली सैनिकको शान्ति मिसनमा रही भएको योगदानका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत सराहना र प्रशंसा हुँदै आएको छ ।

कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यको समेत अवसर प्रदान गर्नेछ ।

नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सहकार्य गरेको हो ।रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.