www.tandavnews.com
Fact ~ In search of truth

‘किर्ते काजगपत्र बनाउनेलाई कारवाही हुन्छ’

पोखरा
ताण्डव न्यूज ।

विद्यार्थीहरुलाई जापान पढ्न पठाउनका लागि पोखरालाई मुख्य कार्यक्षेत्र बनाई भाषा एवं आवश्यक परामर्श र भिसा प्रोसेसिङ गराउँदै आएका एजुकेशनल कन्सल्टेन्सीहरु वि.सं. २०७२ साल देखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा ‘भाषा एसोसियसन अफ नेपाल’ (ल्यान) दर्ता गरी संगठित भएका छन् ।

कन्सल्टेन्सीहरुले विद्यार्थीलाई दिने सेवामा एक रुपता ल्याउने हेतुले स्थापना भएको संस्थाले विद्यार्थीलाई जापान पढ्न पठाउदा आइपर्ने समस्याहरुको हल गर्ने प्रयास समेत गर्दै आएको छ ।

Batas

यसै सन्दर्भमा संस्थाले स्थापनाको समय देखि हालसम्म के कस्ता समस्याहरुको सम्बोधन गर्यो र कन्सल्टेन्सी व्यवसायीहरु बीचको समस्याको बारेमा (ल्यान) का अध्यक्ष युवराज खनालसँग ताण्डव साप्ताहिककर्मी ईश्वर देवकोटाले गरेको कुराकानीमा आधारित :

 

(ल्यान) स्थापना हुनुको उद्देश्य ?

संस्था स्थापना हुनुको मुख्य उद्देश्य भनेको जापानी भाषा र संस्कृतिलाई पोखरामा प्रबद्र्धन गर्नु हो । पोखरामा ठूलो संख्यामा कन्सल्टेन्सीहरु संचालनमा छन् ।

र संचालित कन्सल्टेन्सीहरुले दिने सेवामा पनि एकरुपता कायम गर्नका लागि यस संस्थाको आवश्यकता महशुस भएर स्थापना गरेका हौं । स्थापना भएयता नै हामीले आचारसंहिता बनाएर नै संस्थाको कार्यसम्पादन गरिरहेका छौं ।

संस्थाले बनाएको आचारसंहितामा केके उल्लेख गर्नुभएको छ ?

आचारसंहितामा विद्यार्थीलाई सही जानकारी दिनुपर्ने, भाषा नपढाई विद्यार्थीलाई जापान पठाउन नपाइने, फ्रि भाषाको कक्षा संचालन भनेर विद्यार्थीलाई आर्कषित गर्न नपाईने, विद्यार्थीले सम्बन्धीत जिज्ञासा राख्दा सोको जानकारी दिनुपर्ने हुन्छ ।

कलेजको भर्ना शुल्क, फि, लगायत सेवा शुल्कको बारेमा पनि सबै बताउनुपर्ने उल्लेख गरेका छौं । तीन महिना जापानी भाषाको पढ्दा पाँच हजार रुपैयाँ शुल्क समेत तोकेका छौं ।

संस्थामा कतिवटा कन्सल्टेन्सी आबद्ध छन् ?

अहिले हाम्रो संस्थामा ४५ वटा कन्सल्टेन्सी आबद्ध छन् । र ती सबैले जापानमा विद्यार्थीलाई पढ्न पठाउनका लागि परामर्श एवं भिसा प्रोसेसिङ सेवा दिँदै आईरहेका छन् ।

संस्थामा आबद्ध नभएका कन्सल्टेन्सीहरुको काम प्रति के भन्नु हुन्छ ?

यस संस्थामा आबद्ध नभएका कन्सल्टेन्सीहरुको काम प्रति हामीले हस्तक्षेप गर्ने कुरा त भएन । तर पनि जटिलता सिर्जना भने भएको महशुस गरेका छौं । पोखराको कन्सल्टेन्सी व्यवसायलाई स्वच्छ र पारर्दशी बनाउन सबैको हातेमालो हुन आवश्यक छ ।

अहिलेसम्म कुनै विद्यार्थी वा अभिभावक गुनासो लिएर यहाँको संस्थासम्म आईपुगेका छन् की छैनन् ? कस्ता समस्या मुख्य रुपमा देखा पर्ने गरेका छन् ?

समस्या देखिएका छन् । जब विद्यार्थीको सिओई आइसके पश्चात्त भिसा प्रोसेसिङका लागि दुतावास जानुहुन्छ । र दुतावासले भिसा दिएन भने उहाँहरु आफ्नो खर्च भईसकेको पैसा र सेवा शुल्कको विषयलाई लिएर गुनासो गर्न आउनुहुन्छ ।

हामीले यस्ता समस्यालाई परामर्श द्वारा नै निराकरण गर्दै आएका छौं । विशेषगरी जापानका कलेजहरुका आ–आफ्नै नीतिहरु छन् विद्यार्थीले पूर्व जानकारी पर्याप्त लिएन भने पनि सो समस्या देखिएको हो भन्ने लाग्छ ।

सरकारी काजगपत्र र शैक्षिक प्रमाण पत्र नक्कली बनाएर विद्यार्थीलाई बाहिर पठाउने काम गर्छु भन्दै पैसा असुल्छन्, यस्ता समाचार नि बाहिर आएका छन् के भन्नुहुन्छ ?

हालसम्म हाम्रो संस्थामा आबद्ध कन्सल्टेन्सीहरुले यस्तो कार्य गरेको पाइएको छैन् । बाहिर सुन्न मात्र आएको हो । सरकारी काजगपत्र किर्ते गरेर विद्यार्थीलाई जापान पठाउन खोज्नु गैरकानुनी हो ।

यदि त्यस्तो भेटिएको खण्डमा हामीले संस्थाबाट उक्त कन्सल्टेन्सीलाई निष्काशन गरी शिक्षा मन्त्रालयमा आवश्यक कारवाहीका लागि सिफारिस गर्छौ ।

विद्यार्थीबाट लिने सेवा र पढाइएको भाषा शुल्कमा पनि एकरुपता छैन नी ? संस्थामा आबद्ध कन्सल्टेन्सीहरुले आचारसंहिता नमाने पनि हुने हो ?

संस्था स्थापना भएको छोटो समयमै सबै नियमहरु लागू गर्न त जटिल नै छ । एकैपटकमा सबै कुरा लागू नहुँदा यस्ता समस्या देखिएका छन् ।

हामी आगामी दिनहरुमा संस्था मार्फत नै सबै आबद्ध कन्सल्टेन्सीहरुलाई सर्कुलर गरी सेवाबाट लिइने शुल्कमा एकरुपता ल्याउनका लागि अभ्यासरत नै छौं । संस्थामा आबद्ध भईसकेपछि लागू भएका नियम मान्नु त पर्छ नै ।

जापान जान चाहने विद्यार्थीलाई के सुझाव दिन चाहनु हुन्छ ?

विद्यार्थीले जापान कस्तो देश हो भनेर जानकारी लिने, आफू कुन कन्सल्टेन्सी मार्फत प्रोसेस गर्दै छ त्यसको विगतदेखि वर्तमान सम्मको कामको बारेमा जानकारी लिने, कुन सिटी र कलेज हो त्यसको बारेमा जानकारी लिने, बुझ्न जादा कन्सल्टेन्सीमा अभिभावक सहित जादा उपयुक्त हुन्छ ।

कलेजले लिने शुल्क, भिसा खर्च, प्रोसेस सम्बन्धी एथेष्ट जानकारी विद्यार्थी स्वयम्ले चनाखो भई राख्नु पर्छ । अत्यन्तै महत्वपूर्ण कुरा भनेको विद्यार्थीले आवश्यक पर्ने काजगपत्र आफैं बनाएर लिएर आउनुभयो भने भिसाको लागि पनि समस्या हुँदैन ।

विद्यार्थी वा अभिभावकले गुनासो गर्नुपरेमा कहाँ सम्पर्क गर्ने ?

हाम्रो संस्थाको कार्यालय सिद्धार्थचोकमा अवस्थित छ । केही समस्या वा गुनासो भएमा बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्ममा सम्पर्क गर्न सक्नुहुनेछ ।

सो समयसम्मका लागि हामीले कर्मचारी नै व्यवस्थापन गरेका छौं । ०६१–५३२९४० मा सम्पर्क गरेर गुनासो दर्ता गराउन सक्नुहुनेछ । हामीले प्राप्त गुनासो बैठकमा राखेर छलफल गर्ने छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.