www.tandavnews.com
Fact ~ In search of truth

पोउवा संघ र सिनिङ शहरका व्यापारीबीच व्यापार सहमति

पोखरा ।

चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल ट्रेड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

सिसिपिटिआईका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो ।

Batas

सिसिपिटिआईका महासचिवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ शहरका १० उद्योगी–व्यवसायी सहभागी थिए । सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो शहर हो ।

तिब्बती पठारमा रहेको यो शहर पुरानो रेशमीमार्गमा पर्ने प्रसिद्ध र अग्लो ठाउँमा रहेको शहरका रूपमा चिनिन्छ । सिसिपिटिआईले चीनका लागि अन्तर्राष्ट्रिय व्यापार÷व्यवसाय प्रर्वद्धनको काम गर्छ ।

छलफल कार्यक्रममा सिसिपिटिआईका महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्विपक्षीय व्यापार गर्न उत्सुक रहेको बताए । उनले पोखरामा हुने हस्तकला तथा अन्य प्राचीन सामान चिनियाँ बजारमा प्रर्वद्धन गर्न सघाउने वचन पनि दिए ।

उनले सिनिङ शहरमा उत्पादित वस्तु आवश्यक परे नेपालमा निर्यात गर्न तयार रहेको बताउँदै पोखराको पर्यटन प्रर्वद्धनमा सघाउनका लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता प्रकट गरे।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले चीनबाट विभिन्न सामान आयात गर्दै आएको बताउँदै नेपाली हस्तकला र घरेलु उत्पादन निर्यातका लागि सघाउन चिनियाँ पक्षसँग आग्रह गरे । सो संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइरालाले चिनियाँ प्रविधि नेपाल भित्र्याउन पोखरा उद्योग वाणिज्य संघले पुलको काम गर्ने बताए ।

संघका महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको र सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले चिनियाँ बजारमा नेपालबारे प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे।

सो अवसरमा संघका कार्यसमिति सदस्य ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी चिनियाँ उद्योगी÷व्यवसायीले आफ्ना उत्पादनका बारेमा जानकारी दिँदै नेपाल र पोखरामा भएका उत्पादनको बजारीकरणमा सघाउने वचन दिएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.