www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

बागलुङ ।

गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब ५० लाख मूल्य बराबरको जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिए । ‘जग्गाको नामसरी वडालाई आइसक्यो’, उनले भने, ‘भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ ।’

वडाको भवन बनाउन चालू आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन भएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ ।

‘वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय गर्र्यौँ’, जग्गादाता तिलक उप्रेतीले भने । मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ । जग्गा अभावमा जिल्लाका कतिपय वडाका कार्यालय भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.