www.tandavnews.com
Fact ~ In search of truth

गलकोटमा स्थानीयद्धारा वडा कार्यालयलाई जग्गा

बागलुङ ।

गलकोट नगरपालिका–९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब दश लाख मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ ।

जग्गादाता एकाघरका आमा, छोराहरु छन्। वडा कार्यालयको भवन निर्माणका लागि चाहिने बाँकी साढे दुई रोपनी जग्गा थापा परिवारबाटै खरिदका लागि प्रकृया अघि बढेको वडाध्यक्ष तेजबहादुर थापाले बताए ।

जग्गा प्राप्तिको टुङ्गो लाग्ने बित्तिकै भवन निर्माणको काम तत्कालै अघि बढ्ने उनको भनाइ छ । भवन निर्माणका लागि ८० लाखको बोलपत्र खुलिसकेको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल विद्यालयबाट सञ्चालित छ ।

वडाले मासिक रु छ हजार तिरेर स्थानीय भैरव माविका खाली कोठा प्रयोग गर्दै आएको छ । ९ नंं वडा साविकको मल्म गाविस विभाजित भएर बनेको नयाँ वडा हो । वडा कार्यालय अघिल्लो वर्षदेखि नै जग्गाको खोजीमा लागेको थियो ।

‘जग्गा व्यवस्थापन भइसकेको छ, अब मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त भवन बन्छ’, वडाध्यक्ष थापाले भने । उक्त वडामा स्वास्थ्यचौकी भवन निर्माणको प्रकृया पनि अघि बढेको छ । एक करोड ३० लाखको बोलपत्र आव्हान भएको वडा कार्यालयले जनाएको छ ।

गलकोट नगरपालिका–१, ४, ६ र ९ वडा कार्यालय हाल भवनविहीन छन् भने जिल्लाभरमा कुल ३८ वडा कार्यालयका आफ्नै भवन छैनन् । जग्गा अभावमा वडा भवन, स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको जनप्रतिनिधि बताउँछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.