www.tandavnews.com
Fact ~ In search of truth

पर्वत र बागलुङ जोड्ने पुल सञ्चालनमा नआउँदै हल्लियो, मर्मत शुरु

पर्वत।

पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

Batas

सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताए ।

करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । उनले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताए । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उनले बताए ।

थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो । पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ । पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको संख्यामा पर्यटक आउन थालेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.