ताप्लेजुङ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १७ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।
दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए। सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका हुन् । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।
यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उनका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भनिन् ।
विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.