www.tandavnews.com
Fact ~ In search of truth

कास्कीकोट विकासः किन बाधक बन्यो अहिलेको प्रदेश सरकार ?

साजन सुवेदी

साँच्चै कास्कीकोट सुन्दरमात्र नभई अति सुन्दर छ । जहाँको जनजीवनले छुट्टै मौलिकता झल्काउँछ । यो विशेष गरी ऐतिहासिक, धार्मिक र पर्यटनका लागि महत्व बोकेको ठाउँ हो । तर यसका लागि संरचनाको अभाव छ । कास्कीकोट भूबनोटको हिसाबले अलि नमिलेको छ जस्तो देखिन्छ । पोखरा बजारबाट अति छोटो दूरीमा रहे पनि कास्कीकोटले आफ्नै मौलिकपना र विशेषता बोकेको छ ।

सोचेजस्तो विकास किन हुन सकेन ?

Batas

पोखरा–२४, कास्कीकोट तत्कालिन पोखरा महानगरपालिकाबाट जम्मा १२ किमी मात्र टाढा छ । कास्कीकोटमा पर्यटनको विकासको निम्ति गुप्तकालिका मन्दिर, कुलमण्डल शाहको दरबार तथा अन्य भग्नावशेषहरु भूमेस्थल मन्दिर, खडगाउँकोट, देउराली मन्दिर, थामाको गरा, भ्युटावर, कश्यपताल, कालिका मन्दिर आदि धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । तर वर्षौदेखि यसलाई व्यवस्थापन गर्न भने सकिएको थिएन । पहिलेनै यसको व्यवस्थापनको निम्ति पूर्वाधार निर्माण गर्नुपर्ने थियो सँगै संरचना तयार गर्नुपर्ने थियो तर हुन सकेन ।

जब एमाले नेतृत्व सरकार हटेर काँग्रेस नेतृत्व सरकार आयो बजेट कनिका छरे झैं योजना बजेट विनियोजन गर्नु नै घातक भयो ।

यस निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने माननीय राजीव पहारी, माननीय मित्रकुमारी गुरुङ सुवेदी र वडाका जनप्रतिनिधिहरुको मेहेनतले लौरुक लिफ्टिङ खानेपानी योजना, ठूलाखेत भजाले खानेपानी योजना, सुईखेत कास्कीकोट जोड्ने पक्की मोटरबाटो निर्माण, वनपाले फुल्सेडाँडा गुन्टेचौर मोटरबाटो, कुलमण्डल पार्क निर्माण, देउराली खडगाउँ पदमार्ग निर्माण, ढावा सिँचाई आयोजना, कश्यपताल संरक्षण, प्रगतिशील स्कुल हुँदै कालिका माविसम्म मोटरबाटो, रत्नेटो खेलमैदान निर्माण, मौला बाहुनकुला गुण्टेचौर सिँचाई आयोजनाको डिपिआर निर्माण, बास्कोट खेलमैदानको डिपिआर निर्माण, सिद्धबराह आधारभूत विद्यालय मर्मत, बसन्त आधारभूत विद्यालय मर्मत, सदाशिव आधारभूत विद्यालय मर्मत जस्ता केही उपलब्धिहरु भएका छन् ।

एमाले सरकारमा हुँदा गरेका काम किन देखिएन ?

कास्कीकोट विकासको हिसाबले साह्रै भोको थियो । यसलाई धेरै विकासको आवश्यकता थियो । १ हजार लिटरको खाली ट्यांकीमा ६ सय लिटर मात्र पानी हाल्दा त्यो खाली नै देखिन्छ तर ६ सय लिटर पानी पहिला नै हुन्थ्यो भने अहिले ४ सय लिटर पानी हाले त्यो भरिन्थ्यो ।

त्यस्तै विगत ३ वर्षभन्दा पहिला विकास शून्य भएको कारण धेरै योजना समावेश गरी काम गर्दा पनि देखिएन । हाल ६० प्रतिशत प्राथमिकताका कामहरु सकिएका छन् । तर समय परिवर्तनशील छ, मान्छेका आवश्यकताहरु पनि बढ्दै गएका छन् । यो मानवीय स्वभाव हो र समयको माग पनि हो । कास्कीकोटको विकासमा ३ तहका सरकार एकापसको समन्वयमा काम भइरहेको थियो ।
कास्कीकोट भौगोलिक हिसाबले ठूलो र नमिलेको हुँदा यसको संरचना निर्माण गरी विकास निर्माणको काम अगाडि बढाइएको छ । कास्कीकोटभित्र मुख्य ३ सडकलाई पहिलो आधार मानेर सडक निर्माणका काम सम्पन्न गर्ने तयारीमा छ । जसमा बिन्ध्यवासिनी हुँदै सराङकोट, कास्कीकोट र ढिकुरपोखरी सडक सम्पन्न भएको छ । हल्लनचोक हुँदै पामे बास्कोट लौरुक चिसापानी कार्कीकोतहरा सडक बाटो सम्पन्न हुने चरणमा छ भने पामेको पुल सम्पन्न भएको छ । त्यस्तै कृषि सडकको काम पनि तिव्रगतिमा अगाडि बढेको छ ।

पर्यटकीय सम्भावना बोकेको माथिल्लो भूभागमा फुटट्रयाक निर्माण, कास्कीकोट दरबारको पुनःनिर्माण, थामाकोगराको पुनःनिर्माण, कुण्डमण्डल पार्कको पुनःनिर्माण, कश्यपतालको पुनःनिर्माणको काम वडा र महानरपालिकाले गरिरहेको छ ।

कास्कीकोटमा मुख्य समस्याको रुपमा रहेको खानेपानीको समस्या तत्कालका लागि समाधान भएको छ । कास्कीकोटका ३ ठाडा बाटो यस वर्षभित्र ग्राभेल गरिँदै छ । हाम्रा ३ वर्षभित्र मुख्यमुख्य कामहरु भएका थिए । यस वर्षबाट रिजल्ट आउने क्रममा थियो । तर कास्कीकोट विकासमा अहिले गण्डकी प्रदेश नेतृत्व गरेको काँग्रेस सरकार बाधकको रुपमा आएका छन् ।

किन बाधक बन्यो अहिलेको प्रदेश सरकार ?

कास्कीकोटमा १७ सय ७५ घरधुरीमा जम्मा ७ हजार ५ सय जनसंख्या छ । त्यसमध्ये १ हजार ६५ घरधुरीको ४ हजार जनसंख्या खानेपानीको चरम समस्यामा छ । जुन तत्कालका लागि समाधान भएको छ तर दीर्घकालका लागि भने होइन । बोरिङ आफंैमा दीर्घकालिन होइन ।

दीर्घकालिन समस्या समाधानको निम्ति डोकामा कहिल्यै पानी बोक्न नपरोस् भनेरै अघिल्लो सरकारले अघिल्लो वर्ष २ करोड बजेट विनियोजन गरी काम गरेको थियो । त्यो योजनामा अहिलेको सरकारले ३५ लाखमात्र बजेट विनियोजन गरेको छ । भने देउराली खडगाउँ पदमार्ग खानेपानी योजना नै हटाएको छ । यो कास्कीकोटको विकासका लागि दूर्भाग्यको हो ।

हाम्रो कास्कीकोटभित्रको रिङरोडको बाटो, सुईखेत देउराली अम्कुना मोटरबाटो जुन क्रमागत योजना हुँदै करोडौं रुपैयाँको काम भइरहेको छ । यो योजना पनि हटाइएको छ । कास्कीकोट विकासमा लामो समयपछि महत्वपूर्ण योजना परेका थिए, यो काटिनुको उद्देश्य के हो ? म प्रश्न गर्न चाहन्छु नेपाली काँग्रेस नेतृत्व सरकारलाई ।

त्यस्तै वनपाले फुल्सेडाँडा गुन्टेचौर मोटरबाटोको क्रमागत योजना पनि काटिएको छ । मौला बाहुनकुला गुन्टेचौर सिँचाई योजनाको डिपिआर गरी ४० लाख इस्टिमेट लागतको योजना ५ लाख मात्र विनियोजित भएको छ । एक निर्वाचन एक खेल मैदान अन्तर्गतको योजनाका लागि ३० लाख रकम डिपिआर गर्दा इस्टिमेट भएको रकममा ५ लाख मात्र विनियोजित भएको छ ।

यस आर्थिक वर्षमा पहिलाको योजनालाई क्रमागत गरी एक सांसदले एक नयाँ योजना हाल्न पाउने र योजना सम्पन्न गरी अगाडि बढाउने गरी भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले बेवास्ता गरेको छ । जसअनुसार गुन्टेचौर हुँदै चिलिमडाँडासम्मको मोटरबाटोको लागि ५० लाख माग सिफारिस गरिएको थियो । तर बाटोको निम्ति जम्मा १५ लाख मात्र विनियोजित भएको छ । राउटेओढारदेखि पामेसम्मको बाटो स्तरोन्नतिका लागि त्यसै अनुरुप बजेट विनियोजित गर्दा जम्मा १५ लाख मात्र विनियोजित गरिएको छ । त्यसैले कास्कीकोट विकासमा काँग्रेस नेतृत्वको सरकारले पूर्वाग्रह राखेको छ, बाधक बनेको छ ।

अबको डेढवर्षभित्र कास्कीकोटका ३ वटा बाटो नै ग्राभेल गरी आनन्दले हिँड्न मिल्ने खालको बाटो निर्माण गर्ने तयारीमा थियौं । प्रदेश सरकार र पोखरा महानगरपालिकाले समन्वय गरी ढोकाकोमुख हुँदै लौरुकसम्मको मोटरबाटो पोखरा महानगरपालिकासँग वडाले समन्वय गरी यस बाटो सम्पन्न गर्ने र गुन्टेचौरहुँदै चिलिमडाँडा, राउेओढारहुँदै पामेसम्मको मोटरबाटो प्रदेश सरकारले बनाउने र कास्कीकोटका ३ वटै बाटो सम्पन्न गर्ने उद्देश्य राखेका थियौं । जब एमाले नेतृत्व सरकार हटेर काँग्रेस नेतृत्व सरकार आयो बजेट कनिका छरे झैं योजना बजेट विनियोजन गर्नु नै घातक भयो ।

आज एउटा योजना सम्पन्न गर्नका लागि १० वर्ष लाग्छ । आज कास्कीकोटको तल्लो भूभागमा पर्ने पामे, बास्कोट, लौरुक, चिसापानीमा बसोबास गर्ने जनतालाई बाढीपहिरो र खोलाका कारण दुख भइरहेको छ । पहिलेको सरकारले जनताको दुखलाई बुझी बस्ती संरक्षणको निम्ति बजेट विनियोजन गरी काम अगाडि बढाएको थियो, त्यस योजना पनि काटिएको छ । अहिलेको प्रदेश सरकारले यस ठाउँका जनताहरुको दुखलाई दुख देखेन । पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्व हुँदा कास्कीकोटमा विकासको निम्ति १० करोड रकम विनियोजन हुन्थ्यो अहिले गण्डकी प्रदेशको काँग्रेस नेतृत्व सरकार हुँदा यहाँको विकासका निम्ति जम्मा ८० लाखमात्र विनियोजित हुनु कास्कीकोटका निम्ति दुखद कुरा हो ।

हाम्रो चाहना के हो भने अबको विकास दिगो विकास होस् । अबको राज्यको लगानी बालुवामा पानी खन्याए जस्तो हुनुहुँदैन । त्यसैले बजेट कार्यकर्ता खुसी बनाउन होइन दिगो विकासको मोडालिटी हुनुपर्ने हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.