दमौली
तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।
सरकारले विगत दुई वर्षदेखि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले पनि सशर्त कार्यक्रमका रुपमा प्राप्त बजेटबाट नियमानुसार खरिद गरी सरकारले तोकेको मापदण्डअनुसारको प्याड वितरण गरेको उनले बताए ।
गत आर्थिक वर्षमा खरिद गरिएका केही प्याड कोरोना, लकडाउन तथा पहाडी क्षेत्रमा वर्षायाममा सवारीसाधन जान कठिनाइ हुनेलगायतका विभिन्न कारणले ६ विद्यालयमा वितरण गर्न बाँकी रहेकामा त्यस विद्यालयमा पनि प्याड पुर्याइएको छ ।
योसँगै भानुका २८ मावि र आधारभूत विद्यालयमा गरी २५ हजार १३३ प्याकेट ‘दुई लाख एक हजार ६४ पिस’ प्याड उपलब्ध गराइएको शाखा प्रमुख पौडेलले बताए ।
प्याडको प्राप्ति, संरक्षण, वितरण, व्यवस्थापन र अभिलेखनका लागि प्रत्येक विद्यालयमा एक महिला शिक्षकलाई संयोजक तोकिएको छ । संयोजकले छात्रालाई आवश्यकताअनुसार वितरण गर्ने, यसको सही ढंगले प्रयोग गर्नेबारे प्रशिक्षण र सहजीकरण गर्ने, शौचालयमा प्याड डिस्पोजल विन राख्न लगाई सहीरुपमा बिसर्जन गर्न लगाउने काम गर्नेछन् । नगरपालिकाले चालू आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ ।
महिनावारी भएका बेला छात्रा नियमित विद्यालय नआउने समस्या रहेको छ । “विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्, यसले उनीहरुको पढाइमा समेत असर पर्दैन”, शाखा प्रमुख पौडेलले भने ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.