www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा चुनावी सरगर्मी बढ्दै

पाेखरा।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय सक्रिय बनेको छ ।

निर्वाचन कार्यालयले जिल्लामा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार आसन्न निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार ८३३ जना मतदाताले भाग लिँदैछन् । तीमध्ये पुरुष एक लाख ३३ हजार ७४२ जना छन् भने महिलाको सङ्ख्या एक लाख ४८ हजार ८७ जना रहेका छन् । यस निर्वाचनमा जिल्लामा चारजना तेस्रो लिङ्गी मतदाता सहभागी बन्दैछन् । निर्वाचनका लागि १५० मतदान स्थल र ३३६ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए।

Batas

यसअघि २०७४ सालको निर्वाचनमा कास्कीमा दुई लाख २४ हजार ८११ जना मतदाता रहेकामा आसन्न निर्वाचनमा ५७ हजार २२ जना थपिएका छन् । थपिनेमा रुपा गाउँपालिकामा तीन हजार ३६० जना छन् । रुपामा अघिल्लो निर्वाचनमा ११ हजार ३१५ जना मतदाता रहेकामा यस पटक १४ हजार ६७५ जना मतदाता रहेका छन् । त्यस्तै मादी गाउँपालिकामा यस पटक पाँच हजार २२३ जना मतदाता थपिएका छन् । २०७४ मा १३ हजार ५५९ जना मतदाता रहेको मादीमा अहिले मतदाता सङ्ख्या १८ हजार ७८२ पुगेको छ । त्यस्तै माछापुच्छ«े गाउँपालिमा यस निर्वाचनमा चार हजार १५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १६ हजार ३०१ मतदाता रहेकामा अहिले २० हजार ३१६ जना पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकामा २०७४ सालमा १५ हजार ५६९ जना मतदाता रहेकामा अहिले चार हजार ७७९ जना थपिएर २० हजार ३४८ जना पुगेको छ । जिल्लाकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा आसन्न निर्वाचनमा नयाँ मतदाता ३९ हजार ६४५ जना छन् । २०७४ को निर्वाचनमा एक लाख ६८ हजार ६७ जना मतदाता रहेको पोखरामा यस निर्वाचनमा दुई लाख सात हजार ७१२ जना मतदाता सहभागी बन्दैछन् ।

कार्यालयले निर्वाचनलाई लक्षित गरी सामग्री खरिद एवम् खटिने कर्मचारीको विवरण तयार गर्ने काममा लागेको उनले जानकारी दिए। आसन्न निर्वाचनमा जिल्लामा एक हजार आठजना कर्मचारी खटाइने र स्वयंसेवक तथा सुरक्षाकर्मीसहित दुई हजार ६८५ जना परिचालन हुने उनले बताए।

निर्वाचनलाई लक्षित गरी दलहरूले वडा तथा टोलहरूमा गरेका कार्यक्रमले चुनावी माहोल तताएको छ । चुनावलाई केन्द्रित गरी नेपाली कांग्रेस कास्कीले गत फागुन २८ गतेदेखि ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी सङ्गठनमा सकारात्मक ऊर्जा थपेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए। “अभियानसँगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल भइरहेको छ”, उनले भने, “गठबन्धन दलका बीचमा निर्वाचनमा मिलेर जाने कुरामा सहमति हुनाका साथै कसरी जाने भन्नेबारे पनि निरन्तर छलफल जारी रहेको छ ।”

नेकपा एमालेले निर्वाचनलाई लक्षित गरी वडा एवम् टोल लक्षित गरी विभिन्न कार्यक्रम अघि बढाएको सो पार्टीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए। “निर्वाचनलाई केन्द्रित गरी जनवर्गीय सङ्गठनहरू परिचालन गरिएको छ, विभिन्न स्थानमा पार्टीका कार्यालयहरू खोलेका छौँ”, उनले भने, “उम्मेदवार चयन सम्बन्धमा छलफल भइरहेको छ, हामीलाई उम्मेदवार चयनमा खासै समस्या छैन ।”

नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गरी वडा तथा टोल कमिटीका बैठकहरू गरिरहेको पार्टीको पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए । प्रत्येक वडाबाट भोलिसम्म उम्मेदवार हुन चाहने वडाध्यक्ष सहितका पाँचजनाको सकेसम्म सर्वसम्मत र नभएमा पनि आकाङ्क्षीको नामावली माग गरिएको उनले बताए। उम्मेदवार तय सम्बन्धमा गठबन्धन दलबीच पनि निरन्तर छलफल भइरहेको उनले बताए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.