काठमाडौँ ।
सरकारले विभिन्न मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि विभिन्न श्रेणी समूहका गरी कुल ६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि राजपत्राङ्कित अधिकृत तहका ४सय ३१ पदहरूका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत विभिन्न श्रेणी समूहका १०५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।
यस्तै मन्त्रीपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि विभिन्न श्रेणी समूहका ३० पद, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत विभिन्न श्रेणी समूहका ५० पद र बन तथा वातावरण मन्त्रालय अन्तरगत ४७ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिए।
सञ्चार मन्त्री कार्कीले यस्ता अस्थायी दरवन्दीहरु आयोजना तथा कार्यक्रमहरू सम्पन्न भएपछि स्वतः खारेज हुने भएकाले सरकारले नयाँ व्यक्ति भर्ना गर्नका लागि नभई स्थायी कर्मचारीहरूबाटै सो आयोजना तथा कार्यक्रमहरूमा खटाउने गरी अस्थायी दरबन्दी स्वीकृत गरेको स्पष्ट पारे।
मन्त्री कार्कीले सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलेरेसन परियोजनाका लागि करिब १७ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्नुका साथै जी टु जी प्रावधान अन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न बाँकी अवधिका लागि कृषि सामग्री कम्पनीलाई तोक्ने निर्णय गरेको पनि बताए।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.