www.tandavnews.com
Fact ~ In search of truth

महानगर भन्छः शौचालय नभई हुँदैन, कांग्रेस भन्छः अस्तित्व मेट्न पाइदैन

ईश्वर देवकाटा
पोखरा, ताण्डव न्यूज ।

वर्षेनी बढ्दो जनसंख्याको चाप थेग्दै छ पोखरा लेखनाथ महानगर । विभिन्न टोल विकासका कार्यक्रममा होस् वा अन्य समारोहमा सुनिन्छन् न्यूनतम आवश्यकताका पूर्वाधार नभएको गुनासो ।

जनप्रतिनिधि चुनिएर आईसकेपछि पनि जनताको आकांक्षा अनुरुपको काम गर्न नसकेको भन्दै पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतको चोक चौतारामा अनेकथरी टिका टिप्पणी हुन्छन् । यद्यपि यी र यस्तै टिप्पणीलाई खासै चासो नदिने मेयर जिसी आफूलाई योजना अनुसार चल्ने व्यक्ति भएको तर्क गर्छन् ।

Batas

झण्डैं साढे चार लाख जनसंख्या भएको क्षेत्रफलकै हिसाबले ठूलो मानिने मुलुकमै ठूलो महानगरमा साझा समस्या बनेको सार्वजनिक शौचालय निर्माणको सवाल पनि मेयर जिसीसमक्ष नै ठोकिन पुग्छ । कहिले क्लब मार्फत त कहिले गैह्रसरकारी संस्थासँगै मिडियामा पनि आवाज उठ्ने गर्दछन् ।

मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाका अनुसार सहरमा मानिसको चाप अत्यधिक बृद्धि हुँदै गएको र चहलपहल हुने चोकहरुमा सार्वजनिक शौचालयको आवश्यकता रहेकोले मेयर स्वयम्ले यस विषयमा चासो दिएको बताउँछन् ।

महानगरको स्वामित्वमा रहेका जग्गाहरुमा पायक पर्ने स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि मेयर जिसीको सक्रियतामा केही महिना अघि बाट नै महानगरले आवश्यक अध्ययन प्रक्रिया थालेको थियो ।

सिर्जनाचोक स्थित गणेशमान स्मृति पार्क

यसै सन्दर्भमा पोखरा–८, मा पर्ने सृजनाचोकमा अवस्थित मेट्रोसिटी हस्पिटल अगाडि रहेको पार्क भित्र शौचालय निर्माण गर्न सकिने सुझाव वडा मार्फत महानगर पुगेको थियो ।

सोही अनुसार सृजनाचोकको पार्कको उत्तर पूर्वी कुनामा शौचालय निर्माणको लागि अवरोध हुने संरचना हटाइसकिएको छ । शौलाचय निर्माणका लागि आवश्यक बजेट महानगरले विनियोजन गरिसकेको छ । २५ लाख बजेटमा सृजना विकास केन्द्रको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत समावेश गरी केन्द्रलाई नै निर्माणको जिम्मा दिइएको छ ।

शौचालय बन्न नदिन कांग्रेसको अवरोध

शौचालयको निर्माणको काम थालनी भएसँगै नेपाली कांग्रेस पोखरा लेखनाथ महानगर–८, कमिटीले आपत्ति जनाएको छ । वडा कमिटीका सभापति सुवास सिग्देलले गएको १६ गते पत्र मार्फत मेयर जिसीलाई ध्यानाकर्षण गराउँदै सो पार्कमा शौचालय निर्माण गर्न नहुने धारणा राखेका छन् ।

वडाध्यक्ष रुद्र बरालका अनुसार सो पार्कमा शौचालय निर्माण गर्नुको विकल्प नरहेको बताए । ‘वडाका अन्य स्थानमा सार्वजनिक जग्गा छैन्,’ उनले भने, ‘महानगरको स्वामित्वमा भएको लगभग एक रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा त्यही पार्क मात्र हो ।’

शौचालय निर्माण गर्दा पार्कको अस्तित्व रहँदैन भन्नु कांग्रेसको धारणा आश्चर्यकीत भएको उनले सुनाए । ‘सार्वजनिक शौचालय सृजनाचोकमा तत्कालको आवश्यकता हो,’ उनले भने, ‘महानगरले आधुनिक शौचालय निर्माण गरेर पार्कलाई व्यवस्थित गर्छौ भन्दा विरोधको लागि विरोध गरे जस्तै मात्रै हो ।’

वडाध्यक्ष रुद्र बराल

गण्डकी प्रदेशको राजधानी पोखरा भएसँगै बाह्य लगानी आर्कषित भईरहेको सन्दर्भमा यसरी न्यूनतम आवश्यकताका पूर्वाधार पनि बन्न नदिनुले समृद्ध पोखराको अभियान सफल कसरी होला ? उनी प्रश्न गर्छन् ।

किन आपत्ती जनायो कांग्रेसले

नेपाली कांग्रेसले सार्वजनिक जग्गामा रहेको पार्कमा शौचालय निर्माण गर्न नदिनुको कारण उक्त पार्कलाई ‘गणेशमान स्मृति पार्क’ नामाकरण गरेको छ ।

पार्कलाई नामाकरण सहित २०५५ जेठ ६ गते तत्कालिन नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्कको उद्घाटन गरेका थिए ।

हाल आएर कांग्रेसलाई आफूले नामाकरण गरेको पार्कमा महानगरले नजर लगाएको पो होकी भन्ने शंसय पैदा भएको छ ।

वडा कमिटीका सभापति सुवास सिग्देल भन्छन्, ‘पार्क व्यवस्थित बनाउने कुरामा हाम्रो अवरोध होइन,’ उनले भने, ‘मेट्रो सिटी हस्पिटल नजिकै छ, क्षेत्रफल सानो भएको पार्कमा शौचालय बनाउँदा हस्पिटलकै हितमा बढी प्रयोग हुने देखिन्छ । कतै जनप्रतिनिधि र हस्पिटल बीच साँठगाँठ त छैन् भन्ने हामीलाई आशंका हो ।’

सृजनाचोकको दक्षिणपूर्वमा महानगरले बनाएको भवनमा अण्डर ग्राउण्ड शौचालय सार्वजनिक बनाउने भनिए पनि हालसम्म व्यापारिक उद्देश्यले मात्रै चाँबी लगाउने काम भएको उनले बताए । भईरहेको शौचालयलाई प्रयोगमा नल्याई सानो क्षेत्रफलमा अवस्थित पार्कको अस्तित्व मेटाउन महानगर लागि परेको उनले सुनाए ।

सृजनाचोक वरपर लगायतको क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण एवं पर्यटकहरुले पनि सास्ती खेप्नु परेको छ ।

यो पनि पढ्नुहोस्

मेयर सा’ब ‘ह्वेर टु पि इन पोखरा ?’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.