www.tandavnews.com
Fact ~ In search of truth

सहुलियतको मारमा विद्यार्थी

तपाईँ विद्यार्थी हो ? तपाईँ विद्यार्थीको ड्रेसमा हुनुहुन्छ ? विहान र बेलुका स्कुल/कलेज जाँदा आउँदा मैले जस्तै पीडा तपाईँले पनि पक्कै भोग्नुभएको/देख्नुभएको होला ।

पोखरा दमौली रुटमा चल्ने अधिकांश गाडीहरुले युनिफर्ममा भएका विद्यार्थीहरुलाई गाडीमा चढाउनु भनेको सरासर घाटाको व्यापार गर्नु हो भन्ने साेंच पाले झैँ विद्यार्थीको अगाडि गाडी नै रोक्दैनन् । स्टेसनमा नै पुगेर गाडीमा चढ्न खोज्नुभयो भने पनि सहचालक ढोकामा आइपुग्छन् र भन्छन् ‘कार्डको डिस्काउन्ट हुन्न, मन लागे चढ्नोस् नत्र नचढ्नोस् ।’

आजभन्दा करिब १७–१८ वर्ष पहिला स्व. रवीन्द्र अधिकारी अनेरास्ववियुको अध्यक्ष हुँदा उहाँकै नेतृत्वमा एउटा अभुतपूर्व आन्दोलन भयो । आन्दोलनकै लागि कयौँ दिन विद्यार्थीहरु सडकमा उत्रिए, राज्यको दमनबाट स्याङ्जाका देवि पौडेलले ज्यान गुमाए ।सयौँ विद्यार्थी घाइते भए ।

wardno4

विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई यातायात लगायतका क्षेत्रमा ५० प्रतिशत सहुलियत माग गर्दै भएको सो आन्दोलनका क्रममा बस व्यवसायीहरुले छुट दिन नसकिने भन्दै लामो समयसम्म गाडी थन्क्याएर आन्दोलनको विरोध र भाडा सहुलियतलाई अस्वीकार समेत गरे ।

अन्ततः तत्कालिन सरकारको मध्यस्तामा यातायात व्यवसायी र विद्यार्थीको विचमा म्याद कायम रहेको विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भयो । यसको केही समय पछि सो छुट ४५ प्रतिशत दिने सहमति भयो र अहिले पनि सो सहमति जिवित नै छ ।

२०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी विद्यार्थी सहुलियतका नायक रवीन्द्र अधिकारीको दुखद निधन भयो । अहिलेपनि विद्यार्थीहरुले बसमा भाडा छुट माग्दै गर्दा रवीन्द्रजीलाई पटक–पटक सम्झन्छन् । संयोग भनौँ कि नियत, जब रवीन्द्रजीको निधन भयो, अनि मौलाउन सुरु भयो यातायातका क्षेत्रमा ‘गुण्डाराज’ ।

कुरा जेठ २४ गतेको हो, म नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा भएको ३७ औँ जुनियर युवा गोष्ठी तथा २६ औँ शिक्षक नायक गोष्ठीमा सहभागी हुन मेरा विद्यार्थीहरु सहित श्री गोगन मावि लेखनाथ जानुपर्ने भयो । पोखरा सभागृहको ठ्याक्कै गेट अगाडि३÷४ वटादमौली जाने गाडीहरु आए ।

गाडी रोकेर अरुयात्रुलाई चढाए तर म सँगै भएका ४ जना विद्यार्थीहरु (जो स्कुल ड्रेसमा थिए) लाई चढाएनन् । अन्ततः हामी त्यहाँबाट हिँड्दै पुरानो वसपार्क अगाडि गाडी रोक्ने ठाउँमा पुग्यौँ । दमौली जाने २ वटा बसहरु रहेछन्, एउटा स्थानीय बस व्यवसायी समितिको र अर्को श्रृङ्ग यातायातको ।

दुवै गाडीहरुले विद्यार्थी परिचय पत्रको छुट नहुने भन्दै छुट चाहिने भए अर्को बसमा आउन सक्छौ भनी जवाफ फर्काए । हामीलाई कार्यक्रममा पुग्न ढिला भइसकेको थियो, जेनतेन गाडीमा चढेर गयौँ । छुट नदिएकोमा सामान्य विवाद भएपनि अरु केही गर्न सकिएन ।

भोलिपल्ट अर्थात २५ गते कार्यक्रम सकेर पोखरा फर्कने क्रममा फेरी दमौलीबाट आएको ना ६ प ८४११ नम्बरको गाडी रोक्यौँ । सह–चालकले ढोकामा उभिएरै भने, ‘आज शनिबार कार्डको डिस्काउन्ट हुन्न, डिस्काउन्ट माग्ने भए नचढ्नोस् ।’

अब भने मलाई बहुत रिस उठ्यो र ‘शनिवार छुट हुँदैन भनेर कसले भन्यो ? यो कसले बनाएको नियम हो ?’ भन्दै प्रश्न गरेँ । सह–चालकले यो नियम उनीहरु आफैले बनाएको बताए । म केही नबोली विद्यार्थीलाई गाडीमा चढाएर आफू मोटरसाइकलमा पोखरा आएँ ।

Mahanagar add

डाँडाको नाक प्रहरी चौकीमा गाडीले गरेको अन्याय सुनाउँदा ड्युटीका प्रहरीले ट्राफिक मार्फत निबेदन दिन सुझाएपछि मैले पृथ्वीचोकको जिल्ला ट्राफिकमा गुनासो सुनाएँ । केही समयमा जिल्ला ट्राफिक पुलिस कार्यालयले वागलुङ बसपार्कमा ड्युटीमा रहेका प्रहरीलाई गाडी समाउन सहयोग माग्यो र गाडी वागलुङ बसपार्कमा समातियो ।

म बसपार्क आउँदा पुलिसले गाडी समाएको मात्रै थियो । म आएपछि विभिन्न गाडीका मजदुरहरु एकजुट भएर आए र सबै विद्यार्थीलाई छुट दिएर गाडी चलाउँदा आफूहरु मर्कामा पर्ने, घर नचल्ने भन्दै छुट नदिनु ठीक भएको जिकिर गरे । पुलिसको सम्पर्कमा त्यतिबेला सम्म टुँडिखेल ट्राफिक कार्यालयबाट एक जना ट्राफिक बसपार्क आइपुगेका थिए ।

अन्ततः गाडीले छुट नदिनु गल्ती नै भएको ठहर गर्दै ट्राफिक पुलिसले गाडीलाई टुँडिखेल प्रहरी चौकीमा ल्याएर राखिदिए । यतिबेला सम्म गाडीका साहु र व्यवसायी समितिका प्रतिनिधी समेत प्रहरी चौकी आइपुगेका थिए । उनीहरुले पटक–पटक मलाई छुट रकम लिएर गाडी विरुद्ध निबेदन नदिन लोभ र डर दुवै देखाइरहेका थिए ।

तर मैले लोभ र डर कुनैपनि मान्ने पक्षमा थिइन । जिल्ला ट्राफिक कार्यालयलाई सो गाडी विरुद्ध उजुरी पत्र लेखेँ र आवश्यक कारबाही सहित मेरा विद्यार्थीको बढी लिएको भाडा असुल गरिदिन अनुरोध गरेँ ।

त्यसको भोलिपल्ट गाडीलाई कारबाही गर्दै ५ हजार रुपैयाँ जरीवाना सहित नियमित रुटमा फिर्ता गरिएछ । सो कुरा थाहा पाएपछि मेरा विद्यार्थीबाट बढी असुल गरिएको भाडा फिर्ता पाउने आसमा म पुनः ट्राफिक कार्यालय टुँडिखेल पुगेँ । त्यहाँबाट जानकारी पाएँ, उक्त गाडीले मेरा विद्यार्थीबाट बढी लिएको भाडा रकम फिर्ता गर्नै मिल्दैन रे, गाडीभाडा फिर्ता गरे गाडीलाई कारवाही गर्न मिल्दैन रे ।

यो कस्तो नियम ? डनहरुले खुलेआम रुपमा बढी भाडा असुल्न मिल्ने अनि हामीले भने बढी भएको भाडा फिर्ता लिन पनि नमिल्ने ? आजसम्म सो रकम भने फिर्ता पाउने आसमा थिएँ, अब त आस पनि मरिसकेको छ ।

पोखरामा दैनिक कति विद्यार्थीहरु गाडीमा सवार गर्लान ? ती मध्ये कतिजनाले यस्तै पीडा भोगेका होलान् ? कति विद्यार्थी बढी भाडा लिएको उजुरी लिएर सम्बन्धित निकायमा पुग्लान् र सम्बन्धित निकायले कति गाडीलाई कारबाही गर्ला ?

कारवाही नै भएपनि बढी भाडा उठाउने गाडीले तिरेको जरिवाना त राजस्वमा दाखिला हुन्छ, अनि हामी जस्ता जनताले चाहीँ सधैँ बढी भएको भाडाको आस मारिरहनुपर्ने ?

कारबाही गर्नै नपर्ने र नियमसंगत ढंगले निर्विबाद विद्यार्थीले भाडामा सहुलियत पाउने कहिले ?

अनि खुलेआम रुपमा विद्यार्थी सहुलियत दिन्न भन्ने डनका गाडीमा हामी विद्यार्थीहरु निरीह बनेर यात्रा गर्नुपने चाहीँ कहिलेसम्म ?

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...