www.tandavnews.com
Fact ~ In search of truth

अहिलेको युवा पुस्ता

हाम्रा वरिपरि थरिथरिको युवा समूह हुर्किरहेको छ । मसँगै पनि एउटा युवा पुस्ता हुर्किरहेको छ । उनीहरूसँगै म हुर्किरहेको छु । मसँग हुर्किरहेको युवाहरूको विचार उनीहरूको ईच्छा खोज्न अन्त पुग्नुपर्दैन मैले फेसबुक र ट्विटर स्क्रोल गरे पुग्छ । सामाजिक सेवामा अघि बढेका, निर्मलाका न्यायका लागि लडिरहेका, मिहिनेत गरेर पढिरहेका पनि छन् ।

अनि केही अन्तै देशमा लडिरहेको स्याउको बोट प्रोफाइलमा टाँसेर मुस्ताङ र जुम्लाका किसानले कर तिर्न नसकेर काटिएका बोट भन्दै प्रचार गरिरहेका पनि छन् । बुझाइ आ–आफ्नो हो कोही भ्रम फैलाउँदै रमाइरहेका छन्, कोही त्यही भ्रमलाई पत्याइरहेका छन् ।

मसँगै म अघि पछि बढिरहेको एक युवा समूह सरकारी जागिरका लागि मरिमेटी लोकसेवा पढ्छ । एक समूह कक्षा १२ सक्ने बित्तिकै अध्ययनका लागि विदेशिने सपना पूरा गर्न तल्लीन हुन्छ । खाडी मुलुकमा रोजगारीका लागि जान लागेको समूह राहदानी विभागतिर भेटिन्छ ।

Batas

र केही समूह वर्षौँ एउटै क्याम्पसमा पढेर भोलिको राजनीतिमा आफ्नो भविष्य देख्छ । अनि बाँकी केही न केही सपना देख्छन् न त चाहना राख्छन् । बस् जिन्दगीको यात्रा अघि बढाइरहन्छन् । राष्ट्रिय युवा नीति २०१० ले नेपालका १६ वर्षदेखि ३९ वर्षसम्मको व्यक्तिलाई युवा मानेको छ । जहाँ महिला, पुरुष अनि तेस्रो लिंग भएका व्यक्तिहरू समेटिएका छन् ।

भोलिका भविष्य मानिने आजको युवा केही प्रतिशत सामाजिक सञ्जालको जञ्जाल, केही देशको अवस्थाले दिएको केही प्रतिशत नैराश्यता, केही प्रतिशत हिनताबोध र थोरै आशामा हुर्किरहेको छ । भन्नलाई देशको मेरुदण्ड, शान, मान, इमान जेजे भनिएपनि हाम्रो देशका युवापुस्ताको उर्जा आन्दोलनले खर्चिएको छ । हामी कहाँ युवा उपयोग भन्दा बढी युवा प्रयोग भए । केही दलगत स्वार्थका लागि कसैको सम्मुन्नत चाहनाका लागि जस्तो पनि देखिन्छ ।

युवा को हुन् त ? भन्दा गुगलले यस्तो उत्तर दियो । युवा एउटा समय हो जुन बाल्यकाल पछि र वयस्क हुनुभन्दा अघि आउँछ । यो जिन्दगीको एउटा अवस्था हो जहाँ भोलि कोही पुग्नेछ अथवा हिजो कसैले गुजारिसकेको छ । महत्वकांक्षा, इच्छा, अपेक्षा र आवश्यकताले युवा अवस्थालाई फरक जिम्मेवारी र फरक भूमिकामा हिँडाइरहेको हुन्छ ।

मताधिकार प्रयोग गर्नेदेखि चुनावमा उम्मेद्वार उठ्ने, श्रम र शक्तिको काम गर्ने यही उमेर समूह हो । त्यसपछिको पछिल्लो समूहमा विवेक रहला तर शरीरले साथ दिँदैन । युवामा शक्ति हुन्छ सँगै आक्रोश र आवेग पनि हुन्छ । जसको प्रयोग कहाँ गर्ने भन्ने बारेमा वयस्क पुस्ताले लिने निर्णयमा भर पर्छ ।

डा. तारानाथ शर्माले आफ्नो एउटा लेखमा यसो लेख्नुभएको थियो ‘अमेरिकाका युवा राजनीतिक रूपले पूर्ण सचेत हुनाले नै उनीहरू १८ वर्ष पुग्नेबित्तिकै आफ्ना राष्ट्रपति र विधायक छान्ने मताधिकार प्रयोग गर्न पाउँछन् । आफ्ना न्यायाधीशहरू र स्थानीय प्रतिनिधिका साथै प्रान्तीय र राष्ट्रिय सांसदहरू समेत उनीहरू छान्न पाउँछन् ।

विश्वविद्यालय तहमा पुगेपछि विद्यार्थी संगठनमा पनि उनीहरू उम्मेद्वार हुने र मत दिने पूर्ण मताधिकारको सगर्व र सहर्ष प्रयोग गर्छन्् । नेपालभित्रका हाम्रा युवाले पनि बाहिरी स्वार्थी तत्वको होहल्ला र ललाइफकाइमा बहकिएर आफ्नै दाजुभाइ, दिदीबहिनीको विरोधमा अशिष्ट झम्टाझम्टी, मुक्कामुक्की र ढुङ्गा हानाहान गर्नाले हाम्रो राष्ट्र उँभो लाग्दैन ।

बाँदरले आफ्नो घर पनि बनाउँदैन र कसैले बनाएको देख्यो भने सहन नसकी त्यसलाई भत्काइदिन्छ, भताभुङ्ग पारिदिन्छ । हाम्रा युवाले पनि निर्माण विकास र सामाजिक सहयोगमा जोडदिनु नै हाम्रो राष्ट्रको लक्ष्य हुनुपर्छ ।’

ठ्याक्कै यही प्रवृत्ति हिजो पनि थियो र आज पनि छ । आफू भन्दा अर्को सही नदेख्ने, आफ्नो दलभन्दा अर्को दलको नेतृत्व सही नहुने, आफू सही अरू बेकामे भन्ने युवाले आफूलाई परिवर्तन नगर्दासम्म युवासँगै जोडिन जाने कुनैपनि विषय फेरिँदैनन् । अर्ति उपदेशमा शीर्षकमा रहने कर्म गर्ने समयमा पुछारमै रहने युवाले पनि आफ्नो बाहेक अरूको न उन्नति चाहन्छ न त गरिदिन्छ ।

यसर्थ अहिलेको युवाले पनि कुल भिडको समर्थन गर्ने, कुन हुलसँग रमाउने भन्ने उचित निर्णय गर्न जरूरी छ । युवाको जिम्मेवारी जोसलाई विकासमा रूपान्तरण गर्नु हो अनि विवेक प्रयोग गरेर सद्भाव फैलाउनु पनि हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.