www.tandavnews.com
Fact ~ In search of truth

‘ऊनीजन्य हस्तकलाको बजार राम्रो’

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले आफ्नो भत्ता एवं सुविधालाई स्वरोजगार तथा उद्यमी महिलाको सिर्जनशील तालिमका लागि खर्च गरिने बताएका छन् ।

महिला उद्यमी सङ्घ नेपाल, कास्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ र व्यापार तथा निकासी प्रर्वद्धनको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनीजन्य फेल्ट वस्तु उत्पादनसम्बन्धी तालीमको निरीक्षण गर्दै उनले वडा वडामा उद्यमीको एकाइ गठन गरेर आफूले पाएको रकमबाट महिला उद्यमशीलतामा प्रर्वद्धन गर्ने बताए ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले स्वरोजगार कार्यक्रम शुरु गरेकाले आफ्नो रुचि र क्षमतानुसारको तालीम लिएर आत्मनिर्भर हुन सहभागीलाई उनले आग्रह गरे । उद्यमी सङ्घका संस्थापक अध्यक्ष गुरुङले महिलामाथि हिंसा को कारण परनिर्भरता भएकाले आर्थिक सशक्तीकरणका लागि उद्यमशील बन्न अनुरोध गरे ।

सङ्घका अध्यक्ष काशी गुरुङले ऊनीजन्य पदार्थलाई रङ र साबुनको घोलमार्फत विभिन्न आकारमा ढालेर आकर्षक वस्तु तयार गरिने जानकारी दिए । विदेश निर्यात हुने हस्तकलाको सामग्रीभित्र पर्ने फेल्ट तथा ऊनीजन्य हस्तकलाका सामग्री आकर्षक भएकाले देशभित्र र बाहिर राम्रो बजार भएको बताइएको छ ।

तालीमका प्रशिक्षक पूजा कार्कीले कच्चा पदार्थ भेंडाको ऊन भए पनि नेपाली ऊन गुणस्तरीय हुन नसक्दा विदेशबाट आयातीत हुने बताए। “हामी कहाँको ऊन अलि जर्रो हुन्छ, सामान तयार गर्दा फिनिसिङमा समेत समस्या देखिन्छ । केमिकलबाट ऊनी नरम बनाएपछि मात्रै वस्तु उत्पादन गर्ने मिल्छ”, उनले भने,“ उत्पादित सामानको बजारीकरणका लागि जोड दिने हो भने एक हजार रुपैयाँको लगानीबाट दश हजार आम्दानी गर्न सकिन्छ ।” बेलायत, स्वीट्जरल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेको कार्कीले बताए ।

ऊनीजन्य पदार्थबाट निर्मित वस्तु बढी निर्यात हुने देशमा जर्मनी, डेनमार्क, जापान, अमेरिकालगायत मुलुक छन् । निर्यातित सामानमा झोला, जुत्ता, टोपी ९ह्याट०, फुलको झुप्पा, चरा, झुमर लगायतका छन् । कास्की जिल्लामै पहिलो पल्ट सञ्चालित उक्त तालीममा १४२ महिलाको सहभागिता छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.