www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका कैदीलाई पोखरा र गोरखा राख्नुपर्ने अवस्था

दमौली ।
तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो ।

कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उनले बताए ।

उनले भने, “अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ । बिहानपख शौचालय जान पालो पर्खनुपर्छ ।” पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको उनले बताए ।

Batas

कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताउछन् । उनले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिए । उनले भने, “दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ ।”

पैतीस जनाको क्षमता रहेको कारागारमा ६१ थुनुवा र ६९ कैदी गरी १३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताए ।

तनहुँ कारागारमा आठ करोड रुपैयाँको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ । गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ । दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ । हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.