www.tandavnews.com
Fact ~ In search of truth

श्रमिक नै शक्ति हुन् : मुख्यमन्त्री गुरुङ

पोखरा ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले श्रमिक नै शक्ति भएको बताएका छन् । श्रमिक मजदुरहरु नै सबैभन्दा शक्तिशाली रहने भन्दै उनले त्यसका लागि संगठन आवश्यक रहने बताए । ‘तपाईहरु कुनै न कुनै रुपमा संगठित हुनुस्, मुख्यमन्त्री गुरुङले भने, मजदुरको शक्ति संगठनमा देखिन्छ ।’

मजदुरको शक्तिलाई व्याख्या गर्न उनले रामायणमा उल्लेखित राम र हनुमानको कथा हाले । सीतालाई रावणले हरण गरेपछि रावणसँग लडाइ गर्न समुन्द्रको बाटो कसरी जाने भनेर कुरा गर्दा रामले हनुमानलाई पहाड नै बोक्न सक्ने शक्ति रहेको बताइदिएको प्रसँङग मुख्यमन्त्री गुरुङले उल्लेख गरे ।

‘हनुमानलाई झैँ श्रमिक मजदुरलाई पनि आफ्नो शक्ति थाहा छैन, उनले भने, अब श्रमिक मजदुरले आफ्नो शक्ति बुझनुपर्छ।’नारी जागरण अभियान पोखराले आयोजना गरेको अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमजिवी सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले गण्डकी सरकार मजदुरमैत्री निति, कानुन र बजेट बनाउने भन्दै यसका लागि सल्लाह सुझाव दिन समेत आह्वान गरेका छन् ।

मुलुकमा राजनीतिक र संरचनागत परिवर्तन भएपनि सोँचमा परिवर्तन नआएको उनले बताए । मजदुरलाई कसैले सोध्ने खोज्ने नगरेको भन्दै यो काम सरकारले गर्नुपर्ने उनको धारणा छ । मुख्यमन्त्री, मन्त्री र सिडिओलाई नेता ठान्ने परम्परा रोकिनुपर्ने भन्दै उनले समाजमा परिवर्तन गरिरहेका मजदुरहरु नै बास्तविक नेता रहेको बताए । ‘हामी भनेको पदाधिकारी मात्र हौँ, सरकारी पद धारण गर्ने, तर वास्तविक अर्थमा नेता त उनीहरु हुन्, जसले समाज परिवर्तनमा सघाइरहेका छन् ।’

धनिमानी मानिसहरु पैसाको भरमा नेता भएको उनको भनाई छ । सरकारको पदमा रहँदा कानुन बनाउने र स्रोत साधनको परिचालन गर्न पाउने हुँदा नेतृत्व गर्ने अवसर धेरै हुने उनले बताए । कार्यक्रममा मजदुरी गरेर विज्ञान विषय अध्ययन गरिरहेकी मिना घर्ती मगर, डुङ्गा चालक अर्जुन मगर, रामघाटमा बालुवा चाल्ने महिला पुर्णकला बस्नेत, निर्माण व्यवसायी सर्मिला रोका मगर र पोखराका पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई मुख्यमन्त्री गुरुङले दोसल्ला ओढाउनुका साथै नगद सहित सम्मान गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री गुरुङले फुर्सदको समयमा फोहोरमा प्लाष्टिक टिपेर अध्ययन गरिरहेकी मिना घर्ती मगरको अध्ययन शुल्क प्रदेश सरकारले तिरिदिने घोषणा गरे ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बास्तविक मजदुरलाई खोजेर सम्मान गरिएको नारी जागरण अभियान पोखराका संयोजक अञ्जु क्षेत्रीले बताइन् । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नागरिक समाज पोखराका अध्यक्ष राम पौडेल, सामाजिक अभियन्ता शशी तुलाचन, ट्रेड युनियन महासंघ जिफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्री, सम्मानित व्यक्तीको तर्फबाट मिना घर्ती मगर लगायतले मन्यतव्य राखेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.