www.tandavnews.com
Fact ~ In search of truth

सिद्धार्थ चोकमा ढल बनाउँदा खानेपानी रोकियो

पोखरा
ताण्डव संवाददाता ।

पोखरा सिद्धार्थचोकमा निर्माण गर्न लागेको ढलको कारण खानेपानी रोकिएको छ । माघ २७ गते शनिबार डोजर लगाएर सडक भत्काउँदा खानेपानीको समस्या आएको स्थानीयहरुले गुनासो गरेका छन् । विना योजना काम गर्दा खानेपानीको समस्या आएको स्थानीय बताउँछन् ।

चन्दन रेस्टुरेन्टका सञ्चालक केशव घिमिरेले ढल बनाउने भन्दै खानेपानीको पाइप काट्दा हाहाकार भएकोे बताए । ‘खानेपानी संस्थानमा फोन गर्दा के गर्ने नगर्ने अन्योल कुरा गर्छन्,’ उनले सुनाए, ‘ढल बनाउन अघि पानीको विकल्प खोज्नु पर्ने हो हतारहतारको काम लछारपटार भयो ।’

Batas

पानी मात्र होइन व्यस्त बाटो अवरुद्ध भएपछि ट्याङकरमा पानी मगाउन पनि गाह्रो भएको उनले बताए । ‘खानेपानीको पाइप काटेको १०–१२ दिन पुगिसक्यो,’ उनले भने, ‘पानीको गाडि ल्याउन बाटो नहुँदा बोकेर पानी पिउनु परेको छ ।’उनले सडक निर्माण गर्ने काम राम्रो भएपनि खानेपानीको व्यवस्था मिलाउनुपर्ने सुझाए । ‘कामदारहरु १–२ जनामात्रै छन् । सोध्न खोज्दा त्यसै झर्कन्छन्,’ उनले भने, ‘सिद्धार्थचोकको अवस्था विजोग छ, व्यवसायमा पनि मन्दी आएको छ ।’ काम ले गति लिन नसकेको उनले बताए । ढल बनाउने खाल्डो ठूलो खन्दा चोक वरपरका घरहरुलाई समेत असर पुगेको उनको भनाई छ ।

खानेपानी संस्थान पोखराका प्राविधिक अधिकृत दिनेश्वर यादवले सिद्धार्थचोकको खानेपानी मुख्य लाइनमा परेको हुँदा व्यवस्थित गर्न गाह्रो भएको बताए । ‘त्यहाँ ठूलो नेटवर्क परेको हुँदा समस्या भयो,’ उनले भने, ‘के गर्ने निर्णय गर्न गाह्रो भएको छ । तर, पनि एकदुई दिनमा खानेपानीको व्यवस्थित गर्नेछौं ।’

पोखरा–लेखनाथ महानगरका वरिष्ठ इन्जिनियर शारादामोहन काफ्लेले यो विषयमा वडानम्बर–४ सँग समन्वय गर्नुपर्ने बताए । काफ्लेले सिद्धार्थचोककै उपभोक्तासमितिबाट निर्माण कार्य भएको सुनाए । विगतका वर्षहरुमा ढलको उचित व्यवस्था नहुँदा दुख भएको हुँदा त्यसको मर्मत गर्न लागेको काफ्लेले बताए ।

उपभोक्ता समिति सिद्धार्थचोकको पहलमा ढल निर्माण हुन लागेको हो । त्यसको लागि महानगरबाट ३५ लाख १९ हजार बजेट छुट्याइएको छ । ठेक्का प्रणालीमा असार महिना कुर्नुपर्ने हुँदा त्यो भन्दा अघिनै सक्नुपरेको समितिका अध्यक्ष तेजकुमार मल्लले बताए । उनले टेलिफोन र खानेपानीको काम भएसँगै एकमहिनाभित्र सम्पन्न गरिने बताए ।

‘साँघुरो ठाउँ धेरै मान्छे लगाएर नमिल्नेहुँदा समय बढी लागेको छ,’ उनले भने, ‘स्थानीयहरु गुनासो गरिरहेका छन् । पानीको लागि अझै ४–५ दिन लाग्छ ।’ सिद्धार्थचोकको नाला धेरै पुरानो र जिर्ण भएको हुनाले मर्मत गर्न लागेको उनले बताए । ‘विन्दवासिनीबाट आउने ढल यहाँसम्म आइपुग्दा ठूलो बन्छ, तर साइज सानो हुँदा सडकमा पानी आउने गरेको छ,’ उनले भने, ‘सोही अनुसार ढलको साइज ठूलो बनाउन लागिएको हो । यसको लागि ७ फुट खाल्टो खन्नुपरेको छ ।’ खानेपानीको लागि चिप्लेढुंगा एरियाका स्थानीयलाई समस्या बढेको उनले बताए ।

वडा–४ अध्यक्ष शंकरप्रसाद बाँस्तोलाले निर्माणकार्य सोचेभन्दा जटिल बन्दा समस्या भएको बताए । ‘सडक लामो समयसम्म होस भनेर निर्माण गर्न थालियो र सोही अनुसारको डिजाइन गरियो तर काम गर्दा खानेपानी र टेलिफोनको सञ्जाल यहाँ धेरै रहेछ,’ उनले भने, ‘ त्यसको व्यवस्थापन गर्नको लागि खानेपानी र टेलिकमलाई भनेका छौं । एकदुई दिनमा समस्या सल्टिनेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.