www.tandavnews.com
Fact ~ In search of truth

जन्मभूमिमा मुख्यमन्त्रीको उद्घोषः सबै गाउँपालिका र नगरपालिकामा अस्पताल

लमजुङ
ताण्डव न्यूज ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक जन्मगाउँ लमजुङको गिलुङ पुगेका पृथ्वीसुब्बा गुरुङलाई केही गाउँलेले लिखित रुपमै ज्ञापनपत्र बुझाए । विभिन्न व्यक्तिगत तथा सामाजिक समस्या समाधानका लागि आह्वान गरे ।

उनीहरुको ज्ञापनपत्रमा बिरामीलाई उपचारमा सहयोग गर्न, रोजगारीको अवसर दिनदेखि विकासका योजनामा सघाउन आग्रह गरिएका थिए । गाउँले र आफन्तबीच मुखियाका रुपमा परिचित गुरुङले शनिबार गाउँमा पुगेर धेरैलाई नमस्कार गर्दै थिए त कतिपय अग्रजलाई ढोग गरे ।

Batas

लमजुङको क्व्होंलासोंथर गाउँपालिका वडा नं ९ गिलुङमा शनिबार गाउँपालिका र लायन्स क्लब अफ पोखरा गार्डेन सिटीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सोही शिविरको उद्घाटनको मौका छोपेर मुख्यमन्त्री गुरुङले गाउँ घुमे । लमजुङका दुर्गम गाउँहरुमध्ये १ गिलुङको बुद्धोदय माविमा आयोजित शिविरमा उनले पुराना दिनहरुको याद गरे ।

‘म यही स्कुलमा पढेको हुँ,’ मुख्यमन्त्री गुरुङले सम्झिए, ‘पछि यहीं विज्ञान विषयको शिक्षक बनें ।’ शिक्षकको पेसा छाडेर पञ्चायत विरोधी आन्दोलनमा होमिएका गुरुङले गाउँको माया मार्न सकेनन् । माओवादी द्वन्द्व चर्किएको बेला विद्यालयको अध्यक्ष हुन कोही मानेनन्, दुई कार्यकाल उनी नै अध्यक्ष भए । त्यतिबेला छाप्रामा चलेको स्कुलमा गुरुङले पक्की भवन बनाए, पुस्तकालय र विज्ञान प्रयोगशालाको स्थापना गरे ।

अहिले विद्यालयमा धेरै सुविधा पुगेको उनले बताए । मुख्यमन्त्री गुरुङसँगै रहेका मुस्ताङबाट निर्वाचित प्रदेश सांसद चन्द्रमोहन गौचनले गाउँगाउँमा ताररहित इन्टरनेट सेवा विस्तार गर्नुपर्ने खाँचो औंल्याए ।

स्वास्थ्य शिविरको उद्घाटनमा झन्डै ३ मिनेट लामो मन्तव्य राख्दै गुरुङले गाउँलेलाई स्वास्थ्य र सरसफाइमा ध्यान दिन जोड दिए । ‘गाउँमा अझै पनि बासी खाना खाने चलन छ यसो नगर्नुस्,’ गुरुङले भने, ‘तपाईं स्वास्थ्य हुनुभयो भने मात्र तपाईंको परिवार राम्रो हुन्छ, छोरा छोरी राम्रोसँग पढाउन सक्नुहुन्छ ।’

प्रदेश सरकारले यसै वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउँदै गरेको भन्दै मुख्यमन्त्री गुरुङले सबै गाउँपालिका र नगरपालिकामा अस्पताल बनाउने उद्घोष गरे । प्रदेश राजधानीमा ठूलो अस्पताल बनाउने दोहो¥याए । दुर्गम गाउँहरुमा नियमित स्वास्थ्य शिविर चलाउने समेत उनले बताए ।

त्यही मौका छोपेर राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश ४ कमिटीले ज्ञापनपत्र बुझायो । ज्ञापनपत्रमा स्वास्थ्य सेवा ऐन २०५३ तत्काल कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मीको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुलाई साधन स्रोत सम्पन्न गराउनुपर्ने, जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ताको व्यवस्था हुनुपर्ने लगायतको माग थिए ।

निशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा धेरै हाडजोर्नी÷नसाका बिरामी भेटिए । यो समस्या लिएर १ सय १८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । भिडियो एक्सरे ९८ जना, बालरोग ७३ जना, नाक, कान र घाँटीका ९१ जना र आँखाका बिरामी ५० जना गरी जम्मा ५ सय ६० जनाले स्वास्थ्य लाभ लिए ।

शिविरमा २० जना आँखाका रोगीलाई निशुल्क चस्मा वितरण गरिएको थियो भने मोतियाबिन्दु फेला परेका १२ जनालाई निशुल्क शल्यक्रियाका लागि पोखरा बोलाइएको छ । शिविरमा आएका सबै बिरामीलाई निशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका अध्यक्ष वैकुण्ठप्रसाद पौडेलले जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सक ८ जनासहित ३३ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.