www.tandavnews.com
Fact ~ In search of truth

मेयर सा’ब ‘ह्वेर टु पि इन पोखरा ?’

पोखरा, ताण्डव न्यूज
माधव भुसाल/ईश्वर देवकाटा ।

सन् २०१६ मा छिमेकी मुलुक भारतमा अभियान चल्यो । अभियानको नाम थियो ‘राइट टु पि’ । अर्थात् पिसाब फेर्न पाउने अधिकार ।

रोयटर्समा रिना चन्द्रनले लेखेकि छन् ‘जहाँ सार्वजनिक शौचालयको व्यवस्था छैन । त्यहाँ महिलाहरुलाई अधिक समस्या पर्छ । खुल्ला ठाउँमा पिसाब फेर्दा महिलाहरुमाथी यौन शोषणको खतरा पनि उत्तिकै छ । विशेषतः निर्माणस्थल, सडकमा काम गर्ने कामदार र बटुवाहरु शौचालयको अभावमा खुल्ला स्थानमै पिसाब फेर्ने गर्छन् । यसले वातावरणमा पनि गम्भिर असर निम्त्याउँछ ।’

Batas

शौचालयको अभावमा मान्छेले कम पानी पिउने र पिसाब रोक्ने गरेका कारण प्रजनन अंगहरुमा पनि असर पर्ने गरेको उनको लेखमा उल्लेख छ । दुई बर्ष अघि भारतमा सार्वजनिक शौचालको अभाव भएपछि यस्तो अवाज उठ्नु स्वभाविकै थियो । त्यसपछि भारत सरकारले ठाउँ ठाउँमा सार्वजानिक शौचालय निर्माणको योजना अघि सा¥यो ।

बंगलादेशकी तमिमा अलमले सन् २०१५ मा न्यू योर्क टाइम्समा एउटा लेख लेखिन् । ‘बंगलादेशमा सार्वजनिक शौचालयको अभाव’ विषय तीन बर्ष अघिको लेखले बेजोड चर्चा पायो । अलमले लेखमा ‘ह्वेर टु पि इन बंगलादेश’ । अर्थात बंगलादेशमा कहाँ पिसाब फेर्ने । भन्ने विषयमा पुस्तकनै लेख्ने उल्लेख गरेकी छन् ।

छिमेकी मुलक भारत र बंगलादेशमा मात्र नभएर धेरै राष्ट्रहरुको साझा समस्या हो सार्वजनिक शौचालय । जसबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । हुन त नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने नीति सरकारले लिएको थियो ।

यसका निम्ति विदेशी अनुदान र स्वदेशी पैसा खर्चेर घर–घरमा शौचालय बनाउने अभियान चलाईयो । अभियान चल्न साथ कुन जिल्लाले सबै भन्दा पहिला खुला दिसा मुक्ता जिल्ला घोषणा गर्ने भन्ने प्रतिस्पर्धा सुरु भयो ।

प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्न कास्की जिल्ला सफल भयो । पहिलो हुने नाममा पुर्वाधार विना २०६८ असार ५ गते खुला दिसा मुक्त क्षेत्र घोषणाको कार्यक्रम त सम्पन्न भयो तर सफल हुन भने अझै पनि सकेको छैन ।

खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको करिब ५ वर्ष वित्ति सक्दा पनि पोखरामा गतिलो सार्वजनिक शौचालय छैन् । खुला दिसा मुक्त क्षेत्र घोषण भएपछि पोखरा उपमहानगरपालिका, नेपालकै ठूलो महानगर बन्यो । पोखरा प्रदेश नम्बर ४ को स्थायी निर्विकल्प र विवादरहित राजधानीको रुपमा अघि बढ्यो ।

त्यति मात्र होइन पोखराले अभिभावकको रुपमा मेयर पाए तर सहरले सार्वजनिक शौचालय भने अझै पाउन सकेन । हुन त करिब १० महिना अघि मेयर मानबहादुर जिसीले पोखरामा पाँच वटा स्थानमा सार्वजनिक शौचालय बनाउने योजना तयार परेका पनि थिए तर कार्यान्वय तर्फ भने ढिलाई भएको छ । पोखराको केही ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी भईरहेको मेयर मानबहादुर जिसी बताउँछन् ।

मेयर जिसीका अनुसार वडा नं. ७ पुष्पलाल स्मृति पार्क, वडा नं. ८ सृजनाचोक पार्कमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । वडा नं. ६ मा भने सार्वजनिक शौचालय निर्माणको लागि उपयुक्त जग्गाको खोजी गर्ने काम भइरहेको जनाए ।

ह्वयर टु पि इन पोखरा ?

बंगलादेशकी तमिमाको शीर्षक ठ्याक्कै पोखरालाई पनि सुहाउँछ । पोखरामा पिसाब कहाँ फेर्ने ? सार्वजनिक शौचालय खै ? करिब ४ लाखको हाराहारीमा जनसंख्या रहेको पोखरामा बाहिरी जिल्लाबाट आउनेको संख्या पनि बढ्दो छ ।

पोखरा हेर्न आन्तरीक एवं बाह्य पर्यटक बाह्रै महिना जसो आइरहन्छन् । पर्यटकीय नगरीको नारा घन्काइने पोखरामा शौचालयको अभाव छ । सहरमा सर्वाजनिक शौचालय नहुदा पर्यटकले दुख भोग्न बाध्य छन् ।

चितवनबाट पोखरा आएका प्रसान्त सिग्देलले पनि सार्वजनिक शौचालय नभएकै कारण दुख भोग्नु प¥यो । एक महिना अघिको कुरा हो ।

सिग्देल पोखरा आइपुगे । दिउसो ४ बजे पृथ्वीचोक जिल्ला ट्राफिक अघि सिग्देल बसबाट ओर्लिए । शौच लागेर हैरान परेका सिग्देलले शौचालय नियाले । कतै देखेनन् । पिसा लागेको उनलाई भोक भने लागेको थिएन । तर पिसाब फेर्नकै लागि चोक निरकै होटल छिरेर एक हाल्फ चाउमिन अर्डर गरे । पिसाब फेरे, चाउमिन अलिकति खाए, निस्किए । ‘यस्तो सहरमा पनि पिसाब फेर्ने ठाउँ नै छैन । होटलमा गएर ट्वाइलेट कता छ ? भनेर सोध्न पनि गाह्रो । यसो खाजा खाने निहुँ बनाएर छिर्नु पर्ने’ दुखेसो पोखे ।

लमजुङका किशोर रिमाल पनि पोखरा आएका वेला यस्तै समस्याबाट गुज्रीए । ‘सराङकोट घुमेर फर्किदै थियौं । पानी धेरै पिउने बानी छ । पिसाब लाग्यो,’ उनले भने, ‘अब जहाँ पायो त्यही रोकेर फेर्ने कुरा भएन ।’ कहि सार्वजनिक शौचाल फेला नपारेपछि लेकसाइडमा बुक गरिएको होटलमै पुगेर पिसाब फेरेका थिए ।

बाहिरी जिल्लाबाट आएका सिग्देल र किशोर मात्र होइन पोखराका स्थानीयले पनि त्यही पीडा भोग्दै आएका छन् । जिल्ला बारिहबाट आउनेलाई मात्र होइन यहाँकै स्थानीयलाई पनि उत्तिकै समस्या रहेको लेखनाथ सिसुवाका रवि अधिकारीले बताए । ‘पृथ्वीचोकदेखी यता विरौटा छोरेपाटनसम्म कुनै ठाँउमा सार्वजनिक शौचालय छैनन्,’ उनले भने, ‘यता पृथ्वीचोकबाट माथी दायाँ नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, पालिखेचोक, नदिपुर बगर कतै छैन सार्वजनिक शौचालय ।’

सोच र गफले मात्र स्मार्ट सिटि नबन्ने भन्दै महानगर प्रति आक्रोस व्यक्त गरे अधिकारीले । ‘स्मार्ट सिटि भन्ने महानगरपालिकाले एउटा सार्वजनिक शौचालय अनि जनताले सेतीको डिल र भित्तामा पिसाव नफेरी सुखै छैन,’ उनले भने, ‘कम्तीमा पोखराको १० ठाँउमा सार्वजनिक शौचालय चाहिन्छ ।’

पोखरा लेखनाथ महानगरकै लेखनाथ क्षेत्रमा पनि यो समस्या छ । सार्वजनिक शौचालय छैनन् । बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट भन्छन् ‘शौचालयको समस्या लेखनाथमा पनि छ । लेखनाथबाट पोखरा जाने, आउनेलाई शौचका लागि शौचालयको अभाव छ । कि त होटेलमा खाजा खान छिर्नुपर्यो, नभए कसैको घरमा सोध्नुपर्यो ।’ देख्दा सुन्दा सामान्य लाग्ने भएपनि यो दैनिक जिवनमा आइपर्ने गम्भिर समस्या रहेको उनको सुनाए ।

पिसाब रोक्नु घातक हो

सामान्यतया शहरी क्षेत्रमा सार्वजनिक शौचालयको अभावमा मानिसलाई पिसाब लागेको बेलामा तुरुन्तै पिसाब फेर्न पाउँदैनन् । पिसाब रोकेर राख्नु पर्ने बाध्यता हुन्छ । पिसाब शरिरमै होल्ड गरेर राख्नु मृर्गौला र मुत्रथैलीमा असर पर्ने फिजीसियन डाक्टर रमेश आचार्यले बताए ।

युरोलोजिष्टहरुका अनुसार एक व्यक्तिको शरिरले सामान्यतया २४ घण्टामा १४ सय मिलिलिटर पिसाब उत्पादन गर्छ । ब्लाडरले ४ सय देखि ६ सय मिलिलिटर सम्म पिसाब थेग्न सक्छ । तर पिसाब बाहिरिन पाएन भने यसले पत्थरी, सिस्टाइसिस जस्ता समस्याहरु निम्त्याउँछ ।

लामो समय रोकिइरहँदा पिसाब पोल्ने, पेट दुख्ने र काममा ध्यान नजाने समस्याहरु देखिन्छन् । शरिरबाट निस्कने बिकारहरु पिसाबको माध्यमबाट पनि बाहिरिन्छ । यदि बिकारहरु त्यहि थुप्रिए भने यसले ज्वरो समेत निम्त्याउँछ ।

पोखरामा केही शौचालय यस्ता छन्, जुन समुदाय वा क्लबको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा आएर वातावरण प्रदुषित हुनबाट केही हदसम्म भएपनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

पृथ्वीचोक

सहारा स्पोर्टस क्लवद्वारा सञ्चालित पृथ्वीचोक बसपार्क अगाडि रहेको सहारा सार्वजनिक शौचालयले प्रशंसनीय सेवा उपलब्ध गराउँदै आएको पाइन्छ । शौच गर्ने सुविधा मात्र नभएर स्नान गर्ने सुविधा सहितको व्यवस्था छ ।

अपांगता भएका ब्यक्तीहरुलाई मध्यनजर गर्दै छुट्टै कक्षमा शौचालयको निःशुल्क व्यवस्था गरेको छ । शौचालयमा पिसाब गरेको ५ रुपैयाँ, दिसा गरेको १० रुपैयाँ, स्नान गरेको ५० रुपैयाँ संकलन गर्ने गरिएको छ । संकलित रकम शौचालयको व्यवस्थापनमै खर्च गर्ने गरिएको छ ।

औषतमा दिनमै हजार हाराहारीमा मानिसहरुले शौचालय प्रयोग गर्ने गरेको छन् । पुरुष तर्फ एकैपटक चार जना व्यक्ति पस्न सक्छन् भने महिलातर्फ एकपटकमा तीन जनाले शौच गर्ने व्यवस्था छ ।

पञ्चायत कालको शौचालय

महेन्द्रपुल स्थित पञ्चायतकालमै स्थापना गरिएको शौचालय हालसम्म पनि सेवा दिँदै आइरहेको छ । शौचालय पुरानो र जीर्ण भईसकेको छ । शौचालयमा एक पटकमा पुरुषतर्फ चार जना पस्न मिल्छ भने महिला तर्फ एक जनाले मात्रै एकपटकमा शौच गर्न पाउँछन् ।

अत्यधिक जनघनत्व हुने स्थान महेन्द्रपुलमा सो शौचालय पर्याप्त भने देखिएको छैन् । औषतमा दिनमा तीन सय हाराहारीमा मानिसहरुले शौचालय प्रयोग गर्दै आएका छन् । पिसाव गरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ शौचालय व्यवस्थापन गर्ने व्यक्तिले उठाउछन् ।

बाराही घाट

बाराही चोकबाट फेवाताल झर्ने बाटोमा अवस्थित बाराही घाटमा एक शौचालय सार्वजनिक रुपमा संचालन गर्दै आईरहेको छ । बाराही घाट डुङ्गा व्यवसायी संघले सो शौचालयको व्यवस्थापन गर्दै आएको छ । शौचालयमा पिसाब गरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ संकलन गर्ने गरिएको छ । दिनमा औषसमा २ सय हाराहारीमा प्रयोग गर्ने शौचालयमा एकैपटकमा पुरुषतर्फ ९ जना र महिला तर्फ दुई जनाले मात्र सेवा लिन पाउँछन् ।

फिष्टेल घाट

यहाँको शौचालय अन्य शौचालय भन्दा सानो आकारको छ । एकपटकमा पुरुष र महिला एक÷एक जनाले मात्र शौच गर्न सक्ने व्यवस्था छ । पिसाव गरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ संकलन गर्दै आइरहेको उक्त शौचालय जीर्ण अवस्थामा रहेको छ ।

हल्लनचोक

हल्लनचोक देखि फेवाताल झर्ने मार्गमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनसँगै एउटा सार्वजनिक शौचालय संचालनमा छ । उक्त शौचालयमा एकपटकमा पुरुष र महिलातर्फ दुई÷दुई जनाले सेवा लिन सक्छन् । उक्त शौचालयमा पिसाब/दिसा गरेको ५/५ रुपैयाँ संकलन गर्दै आएको छ ।

 

पहिलो घुम्ती शौचालयको सदुपयोग भएन

कास्की जिल्लालाई नेपालकै पहिलो खुला दिसापिसाब मुक्त जिल्ला घोषणा गरियो । घोषणा गर्दाको समयमा नै पोखराका मुख्य स्थानहरु पुरानो बसपार्क, सेती किनार, फिर्केखोला, विभिन्न चोक तथा सडक किनारहरुमा खुला दिसापिसाब हुने गर्दथे ।

२०७० सालमा रोटरी क्लव अफ पोखरा न्यूरोडले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाएर नेपालमै पहिलो पटक पोखरामा घुम्ती शौचालय ल्याउन सफल भए । पोखराका विभिन्न मुख्य चोकहरु जहाँ मानिसहरुको अधिक चाप रहने भएकाले र सार्वजनिक शौचालय नभएको हुनाले घुम्ती शौचालयको आवश्यक परेको थियो ।

त्यति मात्र होइन मेला, महोत्सव, सांगीतिक कार्यक्रममा प्रभावकारी हुने उद्देश्यले सञ्चालनमा ल्याइएको घुम्ती शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै यूरिन प्यानलको व्यवस्था गरिएको थियो । एकपटकमा ६ जनाले प्रयोग गर्न सक्ने उक्त शौचालयले सर्वसाधारण, बटुवा, यात्रु र पर्यटक लाभान्वित भएका थिए ।

सन् २०१४/१५ का प्रेसिडेन्ट तथा घुम्ती शौचालय व्यवस्थापन कार्यक्रम संयोजक दीलीपराज श्रेष्ठले ‘घुम्ती शौचालयललाई वर्षेनी बढाएर ५ वटा सम्म पु¥याउने लक्ष्य थियो,’ उनले भने, ‘तर महानगरले घुम्ती शौचालयको उचित व्यवस्थापन गर्न नसक्दा एउटा भएको शौचालय पनि नयाँबजारको प्रर्दशनी केन्द्रमा थन्किएको छ ।’ ‘भएको एउटा घुम्ती शौचालय सदुपयोग भएको भए अन्य थप्ने योजना थियो,’ संयोजक श्रेष्ठले भने, ‘अहिलेसम्म कम्तीमा ५ वटा जति घुम्ती शौचालय पोखरामा हुने थियो ।’

१२ लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको उक्त शौचालयमा २/२ सय लिटर क्षमताका सेफ्टी ट्यांकी र पानीका लागि १ हजार ५ सय लिटरको ट्यांकी प्रयोगमा ल्याइएको थियो ।

सो लागतमा पोखरा महानगरले २ लाख, पोखरा उद्योग वाणिज्य संघले १ लाख, गुडविल फाउन्डेशन अमेरिका र सेड्रा नेपालले ७ लाख रुपैयाँ सहयोग गरेका थिए । बाँकी रकम रोटरी क्लव अफ न्यूरोड र बाबा फाउन्डेशनले गरेको श्रेष्ठले जानकारी दिए ।

 

‘महानगर कुइरो भित्रको काग’

दीलिपराज श्रेष्ठ संस्थापक, बाबा फाउण्डेशन नेपाल

 मुलुककै ठूलो महानगरपालिका बनेको पोखरामा सार्वजनिक शौचालय नहुनु दुःखद कुरा हो । प्रदेश नम्बर ४ को राजधानी पनि भएको हुनाले सार्वजनिक शौचालयको अति आवश्यक रहेको छ ।

विभिन्न संघ संस्था र बाबा फाउण्डेशनले मिलेर महानगरले कुनकुन ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्नु पर्ला भनेर अध्ययन पनि गरेका थियौ । अध्ययन अनुसार शौचालय निर्माणको लागि पहल गर्न महानगरमा प्रस्तावना समेत पेश ग¥यौ ।

कास्की जिल्लालाई नै खुला दिसा मुक्त क्षेत्र घोषणा भएको यतिका वर्ष विति सक्दापनि सार्वजनिक शौचालय नहुनु र्दुभाग्य हो । २०६८ असार ५ गते खुला दिसा मुक्त क्षेत्र घोषणा गरियो । घोषणाले मात्र हुँदैन भनेर हामीले आवश्यक पूर्वाधारका लागि मानिसको अधिक चाप रहने ठाउँमा घुम्ती शौचालयको व्यवस्थापन ग¥यौ । बसपार्क पृथ्वीचोक, महेन्द्रपुल, सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइडका विभिन्न महत्वपूर्ण चोकहरु हामीले घुम्ती शौचालयको व्यवस्थापन ग¥यौ ।

पोखरा उद्योग वाणिज्य संघ, रोटरी क्लव अफ न्यूरोड, बाबा फाउण्डेशन नेपाल, तत्कालीन पोखरा उप–महानगर, सेड्रा नेपाल लगायतको सहकार्यमा नेपालमै पहिलो पटक २०७० सालमा घुम्ती शौचालय संचालनमा ल्याएका थियौ ।

घुम्ती शौचालयबाट निस्केको विकार जन्य वस्तुहरुको उचित व्यवस्थापन महानगरले गर्न नसकेको खण्डमा पनि हामीले घुम्ती शौचालयको योजनालाई मूर्त रुप दिन सकेनौं । अहिले त्यो घुम्ती शौचालय नयाँबजारको प्रर्दशनी केन्द्रमा त्यतिकै मिल्केर बसेको छ । महानगरले प्राथमिकताको सूचि र योजनामा नराख्नुले पनि खुला दिसा मुक्त क्षेत्र घोषणाले उल्टो गिज्जाइरहेको अवस्था छ ।
त्यस बेलाको जनप्रतिनिधि विहिन अवस्थामा त कर्मचारीले उचित समन्वय गर्न नचाहेको कारण त्यो घुम्ती शौचालय प्रभावकारी हुन सकेन् ।

हाल अहिले जनप्रतिनिधि चुनिएर आइसकेपछि पनि मेयरसँग प्रस्ताव ग¥यौ । दुई वटा घुम्ती शौचालय ल्याउनका लागि करिव ४० लाखको प्रस्ताव रोटरी क्लव अफ न्यूरोडले प्रस्ताव गरेको छ । पटक पटक सो प्रस्तावको लागि हामीले फ्लोअप गर्दा समेत चासो नदेखाएको स्थिती छ । ६ महिना वितिसक्यो हामीले १५ लाख रुपैयाँ सहयोग बजेट माग गरेको थियौ । महानगरले हाम्रो प्रस्ताव प्रति कुनै चासो दिएको छैन् ।

२१ औं शताब्दीमा आईपुग्दा पनि मुलुककै ठूलो महानगरको स्थिती के भने अझैपनि घुम्ती शौचालयबाट निस्कने विकार वस्तुको व्यवस्थापन कसरी गर्ने भनेर नै महानगर अल्झिएर बसेको छ । महानगर कुइरो भित्रको काग जस्तो भएको छ । न त कुनै योजना नै छ । न त कुनै भिजन ।

सिमित स्वार्थ प्राप्तिका लागि माला लगाउन र सम्मान खान कै उद्देश्य बोकेका मानिसहरुले त्यसरी घोषणा गरे । सामान्य आवश्कताका पूर्वाधार तयार नहुँदा अन्य ठूला विकासका योजनाहरु कसरी अघि बढ्लान भन्ने आम आशंकाको विषय छ । सार्वजनिक शौचालयको विषयमा अब सबै सचेत हुनु जरुरी छ ।

खुला दिसा पिसाब मुक्त क्षेत्र घोषणा गरिरहँदा आवश्यक पूर्वाधार केके हुन जरुरी छ भन्ने सम्बन्धीत निकायहरुले पनि ध्यान पु¥याएर अघि बढ्नु प¥यो । नीजि, सामाजिक संघसंस्था र सरकारी निकायको सहकार्यमा योजना ल्याएर काम गरौं भन्दा पनि समन्वय गर्न नचाहने प्रवृत्तिले भोली अझ यो समस्या विकराल भएर जानेछ ।

सार्वजनिक शौचालयकै सम्बन्धमा हामीले भारतको विभिन्न कम्पनीहरुसँग कोटेशन पनि लिइसकेका छौ ।

हाल जनप्रतिनिधि निर्वाचित भएर आईसकेपछि पनि महानगरले त्यसको व्यवस्थापनको चासो नदेखाएको हुँदा हामीले घुम्ती शौचालय ल्याउन सकेका छैनौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.