www.tandavnews.com
Fact ~ In search of truth

‘सरोगेट’ नेपाल आमा

> सुमित्रा भट्टराई

 

केही वर्ष अघि राजधानी काठमाडौँका केही स्थानमा भाडामा बच्चा जन्माउने महिलाहरूको बारेमा प्रकाशित समाचारले धेरैको ध्यान खिच्यो । निम्न आयश्रोत भएका महिलाले एक प्रकारको रोजगारी नै बनाएका थिए सरोगेसीलाई ।

निश्चित रकमका लागि जिउज्यान जोखिममा राख्दै अरूका लागि सन्तान सुख दिने ति आमाहरूका पीडा के कम थिए होलान् र ? बाँच्नका लागि मानिसले केके सम्म गर्नुपर्छ भन्ने एक ज्वलन्त उदाहारण । ति थुप्रै सरोगेट आमाहरू अचेल के गर्दै होलान् ?

Batas

विसं २०६७ मंसिरमा सर्वोच्च अदालतले सरोगेसी अर्थात् आफ्नो गर्भमा अरूको भ्रुण हुर्काउन अवैधानिक मान्यो र बन्द भयो । तर तिम्रो राज्यले तिमी नेपाल आमा आफै वर्षौँदेखि अरूका लागि सन्तान हुर्काइरहेको देखेन ।

न तिम्रा सन्तानले रोक्न सक्यो न त कुनै नियम नै ल्यायो । सयौँ तिम्रा सरोगेट सन्तानहरू जेटको टिकट लिएर विमानस्थलमा कुरिरहेको देख्दा तिम्रो सरोगेसीको व्यापार खुबै बढेझैँ लाग्छ ।

न तिम्रा सन्तानले रोक्न सक्यो न त कुनै नियम नै ल्यायो । सयौँ तिम्रा सरोगेट सन्तानहरू जेटको टिकट लिएर विमानस्थलमा कुरिरहेको देख्दा तिम्रो सरोगेसीको व्यापार खुबै बढेझैँ लाग्छ ।

केही आमाहरूका कथा । जब आफ्नै परिवारका सदस्य, छरछिमेकका साथीभाईको विदेश मोह देख्छु, मलाई नेपाल आमा नै सरोगेट लाग्छ । नेपाल आमा पनि उस्तै आमा जसले युवककाल सम्म सन्तान पाल्छिन् हातखुट्टा बलिया भएपनि सन्तानहरूले तिनै आमालाई त्याग्छन् ।

कसैले पढ्ने बाध्यता देखाउँदै त कसैले कमाउने । दुखको कुरा ति विदेशिएका सन्तान मध्ये पनि कोही बाकसमा सजिएर फर्किन्छन् । केही मात्रै राम्रो अवस्थामा ।

सन्तान जन्मायो हुर्कायो । केही सन्तान छिमेकी देशको सिमा सुरक्षाका लागि, कोही कोरियामा कृषि क्रान्ति गर्नका लागि, कोही अरबी मुलुकमा आलिसान महल बनाईदिनका लागि ।

धन्य आमा तिम्रो भाग्य ! पराई देशको भर्तिका लागि तिम्रै आगनमा तिम्रा सन्तानको छाति र उचाई नापिन्छ । जान्ने बुझ्ने भएदेखि नै विभिन्न देशका लाहुरे हुने हुटहुटी जाग्न थाल्छ तिम्रा सन्तानहरूलाई । तिम्रा आफ्ना सन्तान तिम्रा लागि रहँदैनन् भने तिमी सरोगेट आमाहरू भन्दा के फरक ?

सरोगेट आमाहरूले निश्चित रकम बुझ्थे, तिम्रा सन्तानले तिमीलाई रेमिट्यान्स बुझाउँछन् । देश शान्ति प्रक्रियामा गएपछि झनै बढे फस्टाएझै देखिन्छ नेपाल आमाको सरोगसी ।

घरमा आफूले खाना खाएको थाल नउठाएका हातहरू विदेशका होटल र रेष्टुरेन्टका प्लेट उठाउँछन् ।

देशमा घन्टौँ सुत्दा नपुग्ने तिम्रा सरोगेट सन्तान पराई देशमा थोरै सुतेर घन्टौं कामको लागि निद्रासँग सम्झौता गर्छन् । ग्लानी हुँदो हो तिमीलाई जो तिम्रा काखमा हुर्किए, तिम्रै वृद्ध अवस्थामा स्याहार गर्न आईपुग्दैनन् ।

कति तिम्रा हट्टाकट्टा सन्तानहरू हाडछाला मात्रै बोकेर फर्किन्छन्, शरिरको उर्जा रित्तिई सकेपछि । जो आफै रित्तिएर आउँछन् तिनले तिमीलाई पीडा बाहेक के थप्न सक्छन् र अरू ?

धन्य आमा तिम्रो भाग्य ! पराई देशको भर्तिका लागि तिम्रै आगनमा तिम्रा सन्तानको छाति र उचाई नापिन्छ । जान्ने बुझ्ने भएदेखि नै विभिन्न देशका लाहुरे हुने हुटहुटी जाग्न थाल्छ तिम्रा सन्तानहरूलाई । तिम्रा आफ्ना सन्तान तिम्रा लागि रहँदैनन् भने तिमी सरोगेट आमाहरू भन्दा के फरक ?

भनिदेउ न तिम्रो राज्य चलाउनेहरूलाई मलाई मेरा सन्तान मेरै आँगनमा उफ्रिएको मेरै दैलोमा हाँसे नाचेको हेर्नु छ । मैले दुख कष्ट सहेर हुर्काएका सन्तानले मेरो वृद्धअवस्थामा मलाई स्याहार गर्न पाउन् ।

तिम्रा गैरीखेत र फाँटहरू रित्तैै नरहुन् । आज तिम्रा सरोगेट सन्तानले कमाएर पठाएको केही थान खुसीहरू दिर्घकालका लागि हुँदै होईनन् । डलरी हाँसोहरूको मोल पनि डलर जस्तै महंगो हुन्छ रे ।

हुन त तिम्रा सन्तानको पनि सरोगेट आमाबाट जन्मिएको हुने रहर हैन । समयले उनीहरूलाई लाचार बनायो । केही अरू देशका लागि फारम भर्न रातभर पालो पर्खिन्छन् । कोही वैधानिक रूपमा जान नपाउँदा दिल्ली धाउँछन् ।

सरोगेट छोरीहरूले अरबी मुलुकमा भोगेका पीडा पनि सुन्छ्यौ होला कहिले काहीँ । उहीले घरको दैलो ननाघेका तिम्रा छोरीहरू अहिले तिमीझैँ वृद्ध आमा बुवाहरू स्याहार्दै तिम्रा लागि ओखती खर्च जुटाउँछन् ।

चित्त बुझेपनि वा नबुुझेपनि बस् विदेशमा आफ्नो श्रम बेचिरहेछन् । केही वर्ष बस्यो कमाएको पैसा जसै सकिछन् । फेरि जेटका टिकट काटिन्छन् विरानो मुलुकका लागि ।

तिम्रा सन्तानले कमाएको धेरैजसो रकम उतैबाट ल्याएका हजारौँका मोवाइल र टेलिभिजन सेटहरूमै साटिन्छन् ।

दशैँमा गाउँघर रित्तै रहन्छन् । स्काईप र भाइबरहरूमा टिका आर्शिवाद लगाउँछन् ।

तिहारमा दिदी बहिनीको डाँको झनै ठुलो हुन्छ । कति आमाबुवाले सन्तानको अनुहार नै देख्न नपाई जीवन गुमाउँछन् ।

धन्न केही भाग्यमानी आमाबुवा केहीका सन्तान मृत्यु पछिको कर्मका लागि देश आईपुग्छन् ।

केही थान खुसीका लागि सन्तान सुख नै त्याग्नुपर्ने प्रवृत्ती कहिले सम्म रहने हो ?

नेपाल आमा फस्टाउँदो तिम्रो सरोगेसी कहिले सम्म चल्ने हो ?

तिम्रो गर्भको ब्यापार कहिलेसम्म हुन्छ ?

 

लेखकबाट थप

आहा ! मोबाइल, आत्था मोबाइल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.