www.tandavnews.com
Fact ~ In search of truth

घाटु: आत्माको नाच

लमजुङ

ताण्डव न्यूज । 

गुरुङ जातिको बाहुल्य गाउँहरुमा यतिबेला आँफैलाई बिर्सेर नाचिने परम्परागत घाटु नाचको रौनक छ ।

लमजुङको क्व्होलासोंथर ९ गिलुङको टक्सार गाउँकी पुष्पा गुरुङ (१७) तीन दिनदेखि घाटु नाचिरहेकी छिन् ।

कुसुण्डा घाटु नाच्दा गीतले नै बेहोस् बनाएर ढलाउने, बेहोसमै उठाएर माग्ने बनाउने र गीतले नै सामान्य अवस्थामा फर्काउने घाटु गुरु चन्द्रध्वज गुरुङ (८१)ले बताए । त्यस क्षण संझदै घाटुनी पुष्पाले भनिन्, ‘काशी गएर नुहाउने र फर्कने बेला बाटो खर्च नभएर माग्नुपरेको हो ।’

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लमजुङको क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनि गुरुङलाई आर्शिवाद दिँदै घाटुनीहरु ।

यहीं भएको मान्छे कसरी काशी पुग्छ ? जवाफमा पुष्पाले भनिन्, मान्छे मात्र यहाँ हो, आत्म त कहाँ पुग्छ कहाँ । सामान्य अवस्थामा फर्किएपछि उनले यहाँ के के गरें भन्ने थाहा नै नपाएको दाबी गरिन् ।

कुसुण्डा र सति घाटुमा यसरी नै घाटुनीहरु बेहोस् हुने र बेहोसीमा आफ्नो नृत्य देखाउने घाटुनी गुरुआमा मैतकुमारी गुरुङ (६३)ले बताइन् । नयाँ पुस्तालाई घाटु नाच सिकाइरहेकी गुरुङ आँफै विगत ५० बर्षदेखि घाटु नाच्दै आइरहेकी छिन् ।

बैशाख पुर्णिमामा घाटुका सबै गीतमा नाचेर सकिएपछि गाउँको दक्षिणतर्फको देउरालीमा लगेर सेलाइने उनले बताइन् । कुसुण्डा घाटुमा पुष्पा, मैतकुमारी सहित पवित्रा गुरुङ र रुकुना गुरुङले नृत्य गरेका थिए ।

घाटु सेलाउने परम्परा पनि रोचक छ । गाउँका सबै घरहरुमा घाटु गाउँदै नाच्दै पुगिन्छ । घर घरमा लिपपोत गरेपछि घरबेटीले नैवेध स्वरुप फलफुल दिन्छन् ।

Lama collectio News Middle

सेलाउने शब्द र भाकामा गाउँदा पनि घाटुनीहरु सामान्य अवस्थामा नरहने अर्का गुरु उमरजँग गुरुङ (८०)ले बताए । ‘देउरालीमा पुगेपछि मात्र घाटुनीलाई देवताले छोड्छ, उनले भने, त्यसपछि छ्याङ्ग भएको अनुभुति हुन्छ ।’

घाटुनीहरुलाई नचाउन घाटुगुरुहरु गमबहादुर गुरुङ, बिनासी गुरुङ, आशमान गुरुङ, नरबहादुर गुरुङ लगायतले साथ दिएका थिए ।

घाटु गीतमा विशेष गरी राजा परशुराम र रानी चम्पावती विचको कथा रहेको घाटु गुरुहरु बताउँछन् ।

राजारानीको प्रेम, द्धन्द्ध, शिकार, जंगल प्रस्थान, माछा मार्ने, राजकाज लगायतका घटनालाइ अधार मानेर नाचिने भएकाले घाटु नाचसलाई गिती नाटक पनि भन्ने गरिन्छ । यसको ऐतिहाँसिक किम्बदन्ती भने फरक फरक छ ।

सो अवसरमा घाटु गिती कथामा उल्लेख गरिएअनुसार राजा, रानी, कुकुर, जोक्कर, जोगी लगायतको अभिनय समेत देखाइयो ।

कुसुण्डा र सति घाटु बैशाख पुर्णिमाको अवसरमा नाच्ने गरिएपनि बाह्रमासे घाटु भने जुनसुकै समयमा पनि नाच्न सकिन्छ ।

पर्यटकीय गाउँहरुमा पछिल्लो समय घाटु नाच पर्यटकको आकर्षण पनि बन्न थालेको छ ।

गुरुङ जातिको महत्वपूर्ण पर्वका रुपमा मनाउने बैशाख पूर्णिमामा घाटु हेर्न प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नो गृह गाउँ लमजुङको टक्सार पुगेका थिए ।

उनले घाटु लगायतको संस्कृति संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए  । ‘धेरै ठाउँमा हराइसकेको छ, मुख्यमन्त्री गुरुङले भने, हामी घाटुलाई जिवित राख्न गरी संस्कृति संरक्षणका योजना बनाउँछोँ ।’

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop