www.tandavnews.com
Fact ~ In search of truth

‘आफ्नै पुस्तक उपहार दिएको छु’

पोखरा
ताण्डव न्यूज ।

कविता, नाटक, गीत, गजल, मुत्तक, उपन्यास, कथाजस्ता साहित्यका विविध विधामा पोख्त कृष्ण उदासी रंगकर्मी पनि हुन् । मोफसलमा रहेर राष्ट्रियस्तरमा स्थापित उदासी शिक्षक पेसामा आबद्व छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराका पूर्व प्राचार्य समेत रहेका उदासी हाल ‘नेशनल आर्ट्स स्कुल’ पोखराको निर्देशकका रुपमा कार्यरत छन् ।

उनका केही लिखित, निर्देशित केही चर्चित नाटक र कृतिहरु ‘अँध्यारो बस्ती, अन्तिम संहार, अश्रुज्वाला, अभ्यस्तर , अङ्गना, अन्तर्राष्ट्रिय रक्सीभट्टी, पुलिस र प्यास, मौसम हराएको देश, एक रुपैयाँ, बार्दलीको छेउबाट, सान्नानीको सन्ते राजा लगायत १०८ वटा नाटक प्रदर्शित छन् । यसबाहेक थुप्रै कविता, नाटक, गजल, उपन्यास लेखेका उदासीसँग गरिएको पुस्तक संवाद :

Batas

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

समय, समाज, जीवन र प्रकृति बोलेका किताब पढ्न मन पर्छ ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले पुष्कर विकको ‘मालचरी’ र राइगर्ड हेगर्डको ‘क्लियोपेट्रा’ पढ्दै छु ।

जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

ज्ञान, चिन्तन, चेतना र विचार निर्माणका लागि जीवनमा पुस्तक पढ्नुको अनिवार्य महत्व हुन्छ ।

तपाईलाई मन परेको पुस्तक ?

धेरै छन् । त्यसमध्ये केही पुस्तकहरुको नाम लिनुपर्दा मुनामदन, आमा, युवाहरूको गीत, लू आदि ।

मन नपरेको पनि होला नी ?

छन् तर नाम उल्लेख नगरुँ कि?

उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

प्रायः आफ्नै पुस्तक उपहार दिएको छु ।

नेपालका उत्कृष्ट ५ लेखक को–को लाग्छन् तपाईंलाई ?

धेरै छन्, पाँच जना मात्रै छान्दा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, कृष्ण सेन ईच्छुक, नयनराज पाण्डे । यिनीहरुले आ–आफ्नो स्पष्ट विचार र दृष्टिकोण सहित किताब लेखेका छन् ।

तपाईंको आयको कति खर्च किताबका निम्ति गर्नुहुन्छ ?

करिब दश प्रतिशत मात्र ।

केटाकेटी हुँदा घरमा कस्ता किताब थिए ?

म बुझ्ने हुँदा घरमा पहिलो भेटेको किताब ‘स्वस्थानी’ हो । जुन किताब म कक्षा एकमा पढ्दा नै लुकीलुकी पढ्थें । जुन किताब जहिले नि पढ्न हुँदैन भन्ने धार्मिक मान्यता छ ।

नयाँ पुस्तालाई किताब तिर कसरी तान्ने ?

किताब पढ्ने पनि एउटा बानी हो । जब बानी पर्छ त्यो आधारभूत आवश्यकता जस्तै बन्छ । किताब पढ्ने बानीले ज्ञान, शिक्षा, चेतना र विचारसँगै अद्भूत आनन्द दिन्छ । यो बुझाउन सके युवाहरू किताब पढ्न तिर आकर्षित हुनेछन् ।

प्रस्तुति : ईश्वर देवकोटा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.