www.tandavnews.com
Fact ~ In search of truth

उनकै छोरी तरुनी हामीलाई केको दोष ?

खसम बाहिर गएको दुई महिना भाछ
जहिल्यै हेर्यो बाहिर घुम्छे छैन घर बास

उनलाई भयो छटपटी हाम्लाई भोक प्यास
राम्री राम्री तरूनीको सबलाई लाग्छ आश

ए होकी हैन हो हो…..
छोरी भन्दा आमा तरूनी लिबिस्टिक पाउडरले…….

Batas

धेरै सुनियो कुमार बस्नेतको स्वरमा यो गित बाल्यकालमा । शब्दको अर्थ बुझिदैनथ्यो, गित रमाईलो लाग्थ्यो ।

धेरै वर्षपछि फेरी सुन्न मन लाग्यो युट्युबमा बजाएँ । एकपछि अर्को गित बज्दै गयो, हरेक गितका शब्दमा गायकले अरूका तरूनी छोरीलाई निशाना बाहेक भेटिन । छोरी भन्दा आमा तरूनी गित सुन्दै थिएँ ।

ति चार लाईन उतारेँ ल्यापटपमा । एक ब्यक्तिको कुण्ठामा संकलित गित जगतका छोरीचेली जिस्काउन हतियार अनि मतियार बन्यो होला उबेला । आमा छोरीलाई बराबर लाईन हानिएको गित ।

मलाई अचम्म लाग्नु स्वभाविकै हो किनभने कुनै गायिकाले आफुलाई मनपरेको केटा र उसको बुवालाई झटारो हानेर गाईएको गित हजुरबुवाको फिलीप्स रेडियोमा कहिल्यै घन्किएको थिएन ।

त्यसपछि अर्को गित बज्यो कलियुगको बेला जोसमा हुन्न होस्, उनकै छोरी तरूनी हामीलाई केको दोष, तेस्रो थियो लप्सीको गेडो.. चौथो हेर्दा राम्रो माछापुछ्रे । ति सबै गितमा दोहोरो प्रेमका शब्द कतैै भेटिएनन् ।

सायद सदाबहार गितका सर्जकको पालामा नारीवादको कुरा नउठ्ने भएकोले होला । धन्न मादल घनघन घन्काउँदै बोलको गितमा ‘तरूनी जिस्काउँदै नहिँड्नु मुलुकी ऐनले समाउला’ भन्ने शब्द राखेको सुनेँ । गायकले अति नै भनेपछि गायिकाले मुलुकी ऐन गाएर तर्साईन् ।

मेरी आमाहरू तरूनी हुँदा बनेको यो गित के आमाले सबैका सामुन्ने गाउन सकिन् ? सायद बनपाखामा कसैले सुन्लान्की भनेर आफैले सुन्ने गरी गाउँदै धित् मारिन् होला । घरतिरै रेडियोमा सबैका सामुन्ने बज्दा चैँ आमाहरू पक्कै सारीको सप्कोले अनुहार छोप्दै बसे होलान् ।

हुन त अचेल पनि हामी ‘मै तो तन्दुरी मुर्गी हुँ यार घट्काले सैयाँ अल्कोहल र्से’ मा रमाउँछौँ बेलाबेला । धुन बुझ्छौँ, भावलाई ध्यान दिँदैनौँ । शब्दसंग घोत्लिने फुर्सद कसलाई पो छ र ? कोकको विज्ञापनमा मोडलको ‘फिगर’ देखाएझैँ यस गितले उनको नारी शरिरलाई मादक बनाएर गजबले चर्चा गरेको छ ।

स्त्रीको गुलाबी ओठ, मृगनयनी आँखा, रेशमी कपाल, लच्किलो छिनेको कम्मर, मयुरको जस्तो चाल, गोरो मुहार आदी शब्दहरू हाम्रा गितका जगहरू हुन् । हरेक स्त्रीले अरूकै लागि जर्बजस्ती राम्री बनिदिनुपर्ने झैँ । जुन जगलाई टेकेर गित कोरिन्छ ।

गायिकाले गाउने गितमा चाहीँ प्रेमीले दिएका धोका, पुरा हुन नसकेका सपना, बिहेपछि पाएका दुःख पीडा आदी आदी मिसिन्छन् । उनीहरूका लागि तिजमा माईति लिन नआएका, खसम परदेशमै अल्मलिएका, पतिको घरमा मिठो मसिनो खान नपुगेका, पुरूष जता गएपनि पछ्याईरहने शब्दहरू जग बनिदिन्छन् ।

उनीहरूलाई पुरूषका बलिष्ठ पाखुराको बयान गर्न मन लाग्दैन वा सर्जकहरूले संकलन गरिदिँदैनन् ? कि गित गाईसकेपछि आउने सम्भावित प्रतिक्रियाले तर्साउँछ ? खैर जे होला त्यो हिम्मत कमै छ अनि ति लय पनि कमै छन् ।

गायकले गाउने गितमा भएको वर्णन र गायिककाले गाएका भएका सिमित घेराले यो पनि बताउँछ कि छान्ने र रोज्ने अधिकार पुरूषलाई बढी छ ।

गितले सँधै समाजको वर्णन गर्छ । देशको संस्कार अनि संस्कृति झल्काउँछ । समय र कालपिच्छे गित फरक फरक जन्मिन्छन् तर भाव उस्तै उस्तै नै हुन्छ । किनभने सर्जक फेरिन्छ समाज होईन ।

जानी नजानी गुन्गुनाएका शब्दहरूले श्रोताको मनमा छाप छोडिरहेको हुन्छ । आफुलाई मन परेको गितमा हामी आफैलाई पात्र बनाएर तुलना गरिरहेका हुन्छौँ । गितको भावमा बगिरहेका हुन्छौँ, अनि सोचौँ त उनकी छोरी तरूनी हामीलाई केको दोष भन्ने शब्दले कुन भाव थुपारीदिन्छ हाम्रो मस्तिष्कमा ।

मैले यहाँ एक गायकको गितलाई सापटी लिएर लेख्दा ब्यक्तिको मानमाथि आँच पुर्याउन खोजेको हुँदै होईन । बरिष्ठ संकलक अनि गायकलाई मेरो सँधै सम्मान छ ।

यो गितका शब्द पनि त्यसबेलाको समाजले सापटी दिएको हो सर्जकलाई जुन त्यसबेलाको समाजको प्रतिविम्ब बनेर घन्किईरहनेछ, वर्षौवर्षसम्म ।

[email protected]
Twitter : @farsumitra

लेखकबाट थप

समाजले छुट्याईदिएका महिला ‘बिटहरू’

नबोल्ने मायाहरूका नाउँमा

‘सुन’ घरघरको कथा

जीवनका कसमहरू…

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.