www.tandavnews.com
Fact ~ In search of truth

सिपले बाँच्न सिकाउँछ – इन्दिरा

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

एसएलसी सकिएपछि साथीहरुले केहि गर्नुपर्छ भन्न थाले । के गर्ने ? कसरी गर्ने ? यस्तै धेरै प्रश्नले अरुलाई जस्तै इन्दिरा लामिछाने (३९) लाई त्यस वेला निकै सोचमा पा¥यो ।

साथै अलग सोच्ने लामिछानेले एसएलसी पछि पनि अन्य साथीहरु भन्दा पृथक खालको विषय छनोट गरिन् । अरुको अफिसमा गएर काम गर्न भन्दा आफ्नै केही गर्नुपर्छ भन्ने थियो उनलाई ।

Batas

त्यो समयमा फेसनमा सबैको चासो बढ्दै थियो । त्यही गतिमा पोखरामा पनि ठाउँ लिदै थियो फेसनले । टिभी सिरियलबाट भारतीय संस्कृति मौलाउँदै गएकाले फेसनको ट्रेन्ड निकै बढिसकेको थियो । त्यसैले पनि उनले फेसन डिजाइनिङमा आफूलाई सहज हुने अनुमान गरिन् ।

उनका दाई मदन लामिछानेको प्ररेणाले गर्दा पनि पोखराको आईसी फेसन कलेजमा एक बर्षको कोर्स गरिन् । दुख, मेहनत गरेर केहि गर्छु भन्ने आँट आफूमा सानै देखि रहेको उनी बताउँछिन् । ‘आफ्नै केहि व्यवसाय गर्ने सानैदेखिको इच्छालाई पूरा गर्ने वातावरण पनि मिल्यो,’ उनले भनिन् ,‘त्यसैले त आज घुम्टो बुटिक सञ्चालन गरेर बस्न सफल भएको छु । ’

आजको समयमा एकल जीवनको संघर्षमा आफू एक सफल व्यवसायी भन्ने यात्रामा लागेको उनी बताउँछिन् । ‘महिला भएपनि डिपेन्डेन्डन्ट नभएको राम्रो हुन्छ,’ उनले भनिन्, ‘आज कसैसँग पनि डिपेन्ड हुन परेको छैन । त्यसैले गर्दा पनि आफू सफल व्यवसायी भएको अनुभव गर्छु ।’
१५ महिनाको कोर्सले आफूलार्ई निखारिन निकै मद्दत गरेको उनले सुनाईन् ।

‘कोर्स सकिए पछि गुन्यू चोली बुटिकमा काम गरेको अनुभवले निकै हौसला मिल्यो,’ उनले भनिन्, ‘विवाहपछि पनि आफूले सिकेको कामलाई निरन्तरता दिएँ ।’

घरको काम सकाएपछि उनी डिजाइन–डिजाइन गरेर कपडा सिलाउने, वरपरका छिमेकीको लुगा सिलाइदिने गर्थिन् । घरमा नेै बसेर पैसा कमाउँथिन् उनी । त्यसैले पनि उनी श्रीमानसँग डिपेन्ड भएर भने बस्न परेन् ।

सीप जानेकै हुनाले आजको दिनसम्म पछाडि फर्किएर हेर्न नपरेको उनले बताइन् । ‘घर खर्च र छोरी आफै यही सीपले पालेको छु,’ उनले भनिन्, ‘आफूले सिकेको सीप व्यवहारमा उतार्न खोज्यो भने कहिल्यै खेर नजादो रहेनछ ।’

२०७० सालमा चिप्लेढुङ्गामा आफ्नै बुटिक ‘मिमोसा घुम्टो बुटिक एण्ड कलेक्सन’ सञ्चालन गरिन् । व्यापार व्यवसाय सजिलो कहाँ थियो र,पेसालाई निरन्तरता गरेकाले आज ६ बर्ष पुग्न लागेको छ ।

सुरुवाती चरणमा उनले व्यवसायमा धेरै चुनौतीहरुको सामाना गर्नु परेको बताउँछिन् । ‘व्यापार भन्ने बित्तिकै पूरा समय दिन पर्ने हुन्छ,’ उनले भनिन, ‘त्यसमा पनि व्यापारमा कहिले घाटा कहिले नाफा हुन्थ्यो । ग्राहकको चित्त बुझाउनु पर्ने गाह्रो हुन्थ्यो ।’

इन्दिराले बुटिकमा आफूसँगै बहिनी रेखा लामिछाने थापा गरि थप चार जना महिला सहित एक पुरुषलाई पनि रोजगार दिएकी छिन् । अहिलेको बजार प्रतिस्पर्धाको बजार रहेको उनीको बुझाई छ । बुटिकहरुपनि ठाउँ–ठाउँ, गल्ली–गल्लीमा खुलेकाले व्यापार गर्न गाह्रो रहेको अनुभव उनीसँग छ ।

‘सबैको पहिलो रोजाइ भनेको फेसनेवल लुगा हो,’ उनले भनिन्, ‘नयाँ खालको डिजाइनिङ लुगामा नै सबैको ध्यान हुन्छ ।’

उनी हालै मात्र ट्रेर्नर नेपालले आयोजना गरेको फेसन वीइक– २०१८ मा पार्टिसिपेन्ट भएकी थिइन् । त्यस फेसन वीइकबाट उनले बेष्ट ब्राइडल ड्रेसको अवार्ड हात पारेकी थिइन् ।

‘यहाँसम्म आउन परिवारको सपोर्ट, मेहनतसँगै बुटिकको सहयोगी हातहरु छन्,’ उनले भनिन्, ‘मेहनत गर्नपछि पर्नु हुदैन् । परिश्रमको फल अवश्य मिल्ने रैछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.