www.tandavnews.com
Fact ~ In search of truth

जिरी उपत्यका : हरियो बिछ्यौना

ताण्डव न्यूज
सुरज हजारे दाहाल ।

समुन्द्री सतहबाट १९०५ मिटरमा रहेको जिरी उपत्यका प्रदेश नं ३ मा रहेको पर्यटकीय नगर हो । दोलखा जिल्लामा रहेको जिरी नेपालको घुम्नु पर्ने पर्यटन क्षेत्र मध्य एक हो । स्विटजरल्याण्डको जुरिच सहरसँग भूबनोट मिल्ने भएकोले यसलाई नेपालको स्विटजरल्याण्ड भन्ने गरेता पनि सार्वभौम देश नेपाल भित्र कुनै देशलाई तुलना गर्न भने मिल्दैन ।

Batas

प्रथम सगरमाथा आरोहीहरु

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी पैदल यात्रा मार्फत जिरी हुँदै सगरमाथा चढेका थिए । विसं २०२४ देखि ५० वर्ष सम्म स्विस सरकारले जिरीको विकास गरेको ६ वर्ष पछि जिरी बिकास प्रोजेक्ट छोडेको थियो । काठमाडौंसँग जिरीलाई जोड्ने नागबेली आकारको सल्लाघारी विचको १९० किमी सडक पनि उसैले बनाएको थियो

जिरीहुँदै प्रशस्त फलाम पाइने रामेछापको ठोसे बजार पनि पुग्न सकिन्छ भने जिरी पुग्नु अगाडि खरी ढुंगाको खानी प्रशस्त पाइने ठाँउ खरीढुंगा आउँछ । दोलखाको सदरमुकाम चरिकोट जिरी अगावै आइपुग्छ । चरिकोटमा केही होटल भए पनि बस्नको लागी भने जिरी नै उत्तम हुन्छ ।

जिरीका लागि गुड्ने सार्वजनिक यातायातका साधन मुडे भन्ने ठाउँमा खानाको लागि रोकिन्छन् । सुनकोशी, तामाकोशी, भोटेकोशी पार गर्दै पूर्वी पहाडी यात्राका लागी आन्तरिक पर्यटकहरु जिरीतर्फ हुइकिएका भेटिन्छन् । पुलमाथि बसले विश्राम लिँदा स्थानीय खोलाको माछा खान सकिन्छ । बसबाट मेलम्ची, दोलालघाट लगायतको दृश्य मनमोहक देखिन्छ । जिरीको आदीवासी जाती भनेको जिरेल जाती हो । जिरेलको अलवा सुनुवार, शेर्पा, तामाङ लगायतका मंगोल जाती तथा बाहुन ।

गर्मीमा करिब २५ डिग्रीको आसपासको तापक्रम रहने त्यहाँ जाडो भने असाध्यै हुने र हिउँ समेत पर्ने गर्दछ । हाल जिरीमा ट्राउट माछाको फार्म पनि खोलिएको छ । स्वीस सरकारले जिरीलाई कृषि क्षेत्रमा विकास गर्न सहयोग पु¥याएको थियो ।

विसं २०१४ मा स्विस नागरिक तथा भूगोलविद टोनी हेगेनको पहलमा जिरीमा पशु फार्मको स्थापना भएको थियो । राजधानीसँग राजमार्गबाट जोडे पछि उन्नत जातका स्वीस गाई र बंगुरपालन मार्फत त्यहाँ पशुपालनको समेत व्यापक विकास भएको थियो । जिरीमा स्विसहरुले पशु फार्म खोल्दा त्यहीबाट स्थानीयवासीको औषधी उपचार र औषधि वितरण गर्दथे र पछि उनीहरुले नै अस्पताल खोलिदिए ।

सगरमाथा लगायत अन्य हिमालको पदयात्राको प्रारम्भ स्थल रहेको जिरीबाट ८ दिनको पैदल यात्राबाट लुक्ला पुग्न सकिन्छ । जिरीमा अत्याधुनिक प्रविधिबाट टेलिमेडिसन प्रविधिबाट बिरामीले सेवा पाउँदै आएका छन् । केही वर्ष अगाडि जिरीमा हरियो चियाको खेती पनि सुरुवात गरिएको छ ।

उच्च क्षेत्रमा फल्ने भएको तथा रासायनिक मल प्रयोग नगरिने भएकोले प्रति केजी हरियो पत्तिको चिया १२ सय रुपैयाँमा विक्री हुँदै आएको छ । स्वीस प्रविधिबाट बनाइएको नाकको ध्यू, नौनी र छुर्पी जिरीको मुख्य कोसेलीहरु हुन् । याकको पोथी नाकको दूधबाट चेर्तुङ भन्ने ठाउँमा चिज तथा ध्यू र मोहीबाट छुर्पी उत्पादन हुँदै आएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी)ले पनि चिज उत्पादन गर्दै आएको छ । जिरी बजारबाट सन् १९५५ मा निर्मित चेर्दुङ चिज कम्पनीसम्म हाइकिङ गरेर पैदलको आनन्द पनि लिन सकिन्छ ।

आकाश खुलेको दिन रोल्वालिङ हिमश्रृंखलाको साथै ७१४५ उचाइको गौरी शंकर हिमाल तथा मन लोभ्याउने हरिया दृश्यका देखिन्छ । निकै पहिले पशु फार्म भित्रै निर्मित हेलीप्याड हाल बन्द अवस्थामा रहेको छ भने सरकारको वेवास्ताका कारण एयरपोर्ट पनि चरण क्षेत्रमा परिणत भएको छ ।

प्रकृतिले दिएको सुन्दर स्वरुप, मन लोभ्याउने दृश्य र गर्मीको बेला केही दिनको शितलताको लागी जिरी आन्तरिक पर्यटकको लागी उपयुक्त गन्तव्य स्थल हो ।

यसरी पुग्ने

पोखराबाट जिरी पुग्न एक दिन भने काठमाडौंमा बास बस्नुपर्ने हुन्छ । पोखराबाट काठमाडौंमा एक रात हुँदै जिरीमा ३ दिन बसेर पोखरा फर्कि आउँदा सम्पूर्ण खर्च (बसाइ, यातायात, खानपान) गरेर १४ हजार रुपैयाँ खर्च लाग्छ ।

पोखराबाट जिरी ३९० किमी र राजधानी काठमाडौंबाट भने १९० किमी टाढा रहेको छ ।

लेखकबाट थप

गुलजार कोशी, डेट् एक्सपायर्ड ब्यारेज

धरान बजार र बुढा सुब्बा मन्दिर

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.