सुनिल उलक
ताण्डव न्यूज ।
अचेल महेन्द्रपुलको बजारलाई पोखराको मुटु मानिन्छ । व्यापारिक केन्द्र विन्दुको रूपमा चम्किएको यो बजार क्रमशः विस्थापित हुँदै गइरहेको छ ।व्यापार गर्ने चाहना बोकेर आउने नयाँलाई यो ठाउँ क्रमशः कठिन बन्दै छ । व्यापार सुक्दै गएको छ तर यहाँ सबैको आँखा गाडिएको हुन्छ । चन्दा तथा सहयोग माग्नेहरू पनि यहीँ क्षेत्रमा दौडिरहेका हुन्छन् ।
सरकारको कुदृष्टि पनि यहीँ क्षेत्रमा परिरहेको हुन्छ । पछिल्लो केही समयबाट घरधनीबाट पनि समस्या झेल्न बाध्य हुनु परेको छ यहाँका व्यापारीले । यस क्षेत्रको व्यापार प्रबद्र्धनको लागि घर धनीहरु चासो राखेको देखिँदैन ।

यदि उनीहरुले पनि चासो देखाउने गरे व्यापारीहरू पलायन हुने अवस्था आउने थिएन । कुनै व्यापारीले व्यापार घट्दै गएको गुनासो घरधनीलाई सुनाउन खोज्यो भने नसके छोडेर जाने सल्लाह दिन्छन् । तर कसरी व्यापार बढाउन सकिन्छ भन्ने विषयका छलफलमा सहभागी हुँदैनन् । कुनै बेला काठमाडौंमा विदेशी पर्यटकको रोजाइमा परेको झोछें, फ्रिक स्ट्रिटको रुपमा चम्केको थियो ।

हासिस र गाँजा सहज पाउने यो सडक सनकाहरुको सडक भएको थियो । पछि बिस्तारै घर साहुहरुको व्यवहारमा परिवर्तन आउन थालेपछि सरकारबाट त्यस्ताखाले गतिविधि नियन्त्रण गरियो । बिस्तारै बिदेशीहरुको बजार ठमेलमा सर्दै गयो, ठमेल चम्किँदै गयो । चम्किरहेको छ ।
महेन्द्रपुल बजारको इतिहासः
व्यापारको चरमोत्कर्षमा पुगेको यो बजारको सुरूवात कसरी भएको थियो भन्ने कौतुहलता सबैमा होला ।
केही जसले आँखाले देखेका थिए, उनीहरुलाई पनि विश्वास नै नलाग्ने गरि बद्लियो महेन्द्रपुल । सोच्दै नसोचेको ठाउँमा बजार बस्यो ।
४२ साल पछि लखेटिएका राणाहरू मध्ये केही पोखरा पनि आएर बसेका थिए । यसरी नै आएर बस्नेमा जंगबहादुरका छोरा हर्कजंगका छोरा दुर्गा प्रतापजंग पनि एक थिए ।
दुर्गा प्रताप बाबुसाहेवको हिस्सामा गैह्रापाटनदेखि दक्षिण र चिप्लेढुङ्गादेखि उत्तरको सम्पूर्ण भूभाग ओगटेको थियो ।
यसको दक्षिण पूर्वको भागलाई बगैंचा भन्ने गरिन्थ्यो । किसिम किसिमका फलफुलका बोटले भरिएको यस बगैंचाको पूर्वमा पानी बग्ने खोल्सो बनाइएको थियो । त्यसभन्दा पूर्वमा सेतीको नजिकै साँघुमुखको पुरानो बजार थियो ।
यसरी पानी बग्ने खोल्सो तथा खुला चउर जस्तो ठाउँमा घरहरू थिएनन् । त्यसभन्दा दक्षिणमा टिकाराम बास्तोलाको खरबारीको ठूलो चौर थियो ।

पोखरामा पहिलो अञ्चलाधिस भएर भूदेव राई आइपुगेका थिए । निकै कडा मिजाजका भूदेव त्यसबेला राजनैतिक रूपमा समातिएकाहरूलाई, अरूलाई तर्साउने गरि सबैले देख्ने गरि सैनिकहरूलाई पिट्न लगाउँथे ।
२०१५ सालको चुनावमा बिराटनगरबाट विश्वेस्वर कोइरालाको बिपक्षमा राजा महेन्द्रले चुनावमा उनैलाई उठाएका थिए । राजा महेन्दका प्यारा यिनी पोखरामा काँग्रेस तर्साउन आएका जस्तै लाग्दथ्यो ।
पोखरामा अञ्चलाधिस भएर रहँदा पोखरेलीले बिर्सन नसकिने केही कामहरू गरेका थिए ।
उनकै योजनामा साँघुमुख देखि नालामुख र केही मोहरिया टोलमा रहेका सबै कार्यालयहरू पार्दीमा सार्न जग्गा अधिग्रहण थालिएको थियो । यसको केही समय पछि बिस्तारै सबै कार्यालयहरू पार्दीमा स्थानान्तरण हुँदै गए ।
कास्कीका राजा सिद्धीनारायण शाहले बि.सं १८२३ मा अर्घौ पौवा तथा कालिका आक्रमणको लागी घलेहरूले लमजुङबाट कास्की छिर्दा सालको ठूलो रूख ढलाएर बनाएको साँघुलाई हटाएर नयाँ बलियोसँग केही चौडा साँघु बनाएर युद्ध लड्न सैनिक पठाएका थिए ।
यसरी अर्घौ पौवा बिजय पछि त्यसरी बनाइएको कोठेसाँघुमा सुरक्षाको लागी सैनिक बस्ने ब्यवस्था पनि मिलाइयो । यसरी सिद्धीनारायण शाहले कोठेसाँघु बनाएको करिव २०० वर्ष पछि यिनकै पहलमा सेतीमाथि पक्कि पुल बनाएका थिए ।

पुल बनाउनको लागि साँघुमुख तथा रानीपौवाका साहुहरूले आर्थिक सहयोग मात्र गर्न चाहेका थिए । तर यिनले पुल बनाउन सरकारले सक्छ, यहाका साहु महाजनले जनश्रमदान गर्नुपर्छ भनेर यस क्षेत्रका साहुहरूलाई ढुङ्गा बालुवा बोकाएर जनश्रमदान गर्न लगाएका थिए ।
यसरी पुल बन्दै गर्दा पुलको छेउमा रहेका घरहरू अधिग्रहण गरे भने साँघुमुखको चोकबाट विमानस्थल सम्म जाने सोझो सडक पनि बनाए । साँघुमुख चोकबाट तल राणाको बगैंचासंगै खोल्सो र खुल्ला ठाउँ थियो नै त्यसभन्दा तल टिकाराम बास्तोलाको खरबारीमा सडकको लागि जमिन छोड्न लगाए ।
चिनी काण्डले अप्ठेरोमा परेका टिकाराम बास्तोलाले सडकको लागी बाटो छोड्न तयार भए पछि मिनहा पाए ।
पुल बनेपछि साँघुमुखको पुरानो बजार बिस्तारै नयाँ बनेको सडक तर्फ सर्न थाल्यो विस्तारै राणाको बगैंचा बिक्री हुन थाल्यो । नयाँ आउनेले घरहरू बनाउन थाले । जसले गर्दा बजारले स्वरूप लिदैँ गयो ।
यस भन्दा तल हालको सनराइज होटल देखि भने अहिले नयाँ बजार नामाकरण भएको छ तर पहिले यस भन्दा तल जलारी (पोडे) हरूको वस्ती भएको हँुदा यो सबै ठाउँलाई पोडे टोल भनिन्थ्यो । तर माथिल्लो भेगमा वस्ती नभए पनि बोलीचालीमा त्यहीँ नामले चिनिन्थ्यो ।
पोखराको पहिलो प्लटिङः
२०११ सालमा सुकुम्वासीलाई जग्गा वितरणको अभियान चलेकै बेलामा अहिलेको नयाँबजारमा १५÷१५ हातको घडेरीको बिक्री थालिएको थियो । एकातर्फ जितबहादुर भुजेलको जग्गा थियो भने अर्को तर्फ उमानाथ बास्तोलाको जग्गा थियो ।
एउटा घडेरीको २ सय रूपैयाँले बिक्री गर्न थालियो । पछि ७ सय रूपैयाँसम्म पुग्यो । यसरी पोखरामा पहिलो पटक प्लटिङ्ग गरेर जग्गा बिक्री आरम्भ भयो । जग्गा बिक्री भए पछि सानो सानो छाप्रो बन्न थाल्यो ।
स्याउलाले छाएका ति घरहरूको कारणले यो ठाउको नाम स्याउले बजार रह्यो । जब पछि नयाँ घरहरू बन्न थाले त्यसपछि यो ठाउँको नाम नयाँबजारको रूपमा प्रख्यात भयो ।
चिप्लेढुङ्गा तर्फ खाली चउर थियो । चिप्लेटी खेल्ने त्यो ढुङ्गा निकै ठूलो थियो । उत्तर तर्फ फलफूलका बोटले भरिएको बगैंचा थियो । बच्चाहरु खेल्ने थलो थियो ।
लेखकबाट थपः
साँगुमुखका घरहरू
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.