www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकीमा बाढी, दुई सय घर उच्च जोखिममा

पर्वत ।

कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।

गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।

Batas

म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि आएको बाढीका कारण कालीगण्डकी किनारतर्फका बस्ती जोखिममा परेका हुन् । नदी किनारमा रहेका घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएकाले कालीगण्डकीको बहाब नघट्दा कटान रोकिएको छैन ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल र तटबन्धसमेत भत्किएकाले बजार क्षेत्रतर्फको कटान बढ्दै गएको छ । अहिलेसम्म स्थानीय आमा समूहको सामुदायिक भवनमा सामान्य क्षति भएको भएपनि ठूलो क्षति भने भएको छैन । तर, कतिबेला बजारभित्रै कालीगण्डकी पस्ने हो भन्ने त्रास रहेको स्थानीय चित्रराज रेग्मीले गुनासो गरे ।

नदीले कटान गर्दै जान थालेपछि बस्ती जोखिममा परेको वडाअध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिए । बाढीकै कारण बेनी–बगरफाँट–बाँसखर्क सडकसमेत अवरुद्ध बनेको छ । ग्रामीण सडक नदीले कटान गरेपछि अहिले त्यस क्षेत्रका बासिन्दालाई पैदलमार्फत आवातजावत गर्न समेत समस्या भएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय जलजला गाउँपालिकालाई क्षतिको विवरण सङ्कलन गर्न र जोखिममा रहेका परिवारको तथ्याङ्क सङ्कलन गर्न आग्रह गरिएको बताए । उनले नदी किनारका बासिन्दालाई वर्षात र बाढी पहिरोको समयमा उच्च सतर्ककता अपनाउन सुझाव दिएको उल्लेख गरे। -(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.