www.tandavnews.com
Fact ~ In search of truth

पितृ पक्ष (सोह्र श्राद्ध) के हो र किन गर्ने?

ज्यो. कमल पौडेल ‘शास्त्री’
पाेखरा, ताण्डव न्यूज । 

चन्द्रमा अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।

आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ ।

Batas

पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् । केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धा्रित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।

वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ । यथार्थमा यहि औंसी तिथिमा गर्नु पर्ने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । तर समय व्यस्तता र व्यवहार नमिल्ने हुनाले र विविध कारणले गर्न नसकेका कारण समग्रमा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ । शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ। पूणिर्मा तिथिमा गर्नुपर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ ।

औंसीमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथि मानिएकोले यसमा गरिने श्राद्धलाई सोह्र श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ । पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ । एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको (शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि ) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ । पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ ।

विधि
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो । अन्य श्राद्धको विधि जस्तै सुरूमा देव–मनुष्य–दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ (पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो)।

ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन– तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ ।

पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन् । हिन्दूधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ । यो लोकपरम्परा हो ।

श्राद्धमा के गर्ने के नगर्ने
पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन् छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् – बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।

श्राद्धमा गर्न नहुने काम
पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु ।

पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, सन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन

कसले कुन दिन श्राद्ध गर्ने ?
पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई ऐच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन ।

तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षै्पिच्छे श्राद्ध गर्नुपर्छ ।

आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.