www.tandavnews.com
Fact ~ In search of truth

ग्यालरीमा उहिलेको पोखरा

बिनिता सुनार
पाेखरा, ताण्डव न्यूज । 

पर्यटकीय नगरी पोखरा साच्चै कति पुरानो हो ? पोखरामा बस्ती विकास कसरी भयो र पोखरा पहिले कस्तो थियो भन्ने बारे अहिले मानिसहरुलाई थाहा नहुन सक्छ । पोखराको सौन्दर्यमात्र होइन अब भने पहिलेको पोखरा समेत हेर्न पाइने भएको छ । आज भन्दा करिब आधा दशक पहेलेको पोखरालाई तस्विरमा देख्न सकिन्छ ।

पोखरा भैरबटोल स्थित उहिलेको पोखरा ग्यालरीमा आज भन्दा लगभग ६० –६५ वर्ष पुराना पोखराका तस्विर हेर्न सकिने छ । पोखराको इतिहासलाई जोगाई राख्न र पोखराको इतिहासको बारेमा सबैलाई जानकारी दिने उद्देश्यका साथ ‘उहिलेको पोखरा’ आर्ट ग्यालरीको स्थापना गरिएको हो । उक्त ग्यालरीमा पोखराको पहिलो व्यवसायिक फोटोग्राफर स्व. जगन्नाथ उलकले वि.स २०१० सालदेखि २०२३ सालसम्म खिचेका पोखरा एवंम विभिन्न जिल्लाका ऐतिहासिक फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

Batas

‘उहिलेको पोखरा’ ऐतिहासिक फोटो प्रर्दशनी भित्र २०२३ सालभन्दा अघिका विद्यालय, यातायात, संस्कृति, महिलाको जीवनी, बाल्यकालका अवस्था, पोखराका बजारहरु, प्रसिद्ध स्थल, फेवाताल, महेन्द्रपुल, एयरपोर्ट लगायत लुम्बिनी, बाग्लुङ, बुटवल, मुस्ताङको मार्फ, जोमसोम, मुक्तिनाथ लगायतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत फोटोहरु भरिपूर्ण सजिएर रहेका छन् ।

त्यस ग्यालरीमा जाँदा मानिसले सोचेको भन्दा फरक पोखरा पाउन सक्छन् । त्यति मात्र नभएर हवाइ फोटो, जापानी अनुसन्धानकर्ताहरुले खिचेका मनमोहक फोटो अमेरिकन पिस कोरहरुले लिएका विभिन्न तस्विरहरु समेत त्यहाँ राखिएको छ ।

फोटोको वास्तविक महत्व बुझ्न नपाउँदा धेरै फोटोहरु जलाएको स्व. जगन्नाथका जेठा छोरा नवीन उलकले बताए । ‘चिन्नेहरुको बाहेक हजारौ फोटोहरु जलाइयो,’ उनले भने, ‘अझ पनि थुप्रै फोटोहरु छन्, जुन प्रर्दशनीमा देख्न पाउछाँै ।

मानिसले कल्पना गरेको पोखरा र वास्तविक पोखरा निकै फरक रहेको उनको भनाइ थियो । ६३ वर्षीय उलक आफ्नो बाल्यकाल सम्झँदै भन्छन् ‘म १२–१३ वर्षको हुँदाको कुरा हो, गाडा चल्थ्यो गाडामा झुण्डिएर एयरपोर्ट पुगेको थिएँ । गाडा बिग्रियो हिँडेर आउन प¥यो आउँदा बाटो नचिनेर घण्टाँै हिड्न परेको थियो ।’

व्यापरिक हिसाबले जगन्नाथ पोखराको पहिलो फोटोग्राफर रहेको उनले सुनाए । जगन्नाथ काठमाडौबाट परिवार सहित हिडेर १४ दिनमा पोखरा आएका थिए । परिवार सहित आएका उनले पोखरामा पढाउने काम गर्दा गदै फोटो स्टुडियो खोलेको उनले बताए ।

‘बुबाले २०१० सालदेखि २०२३ साल सम्म फोटो स्टुडियो सञ्चालन गर्नु भएको थियो, मेरो जन्म भएपछि मेरै नामबाट स्टुडियोको नाम राख्नु भएको थियो,’ उनले भने, ‘बुबाले खिच्नु भएको फोटोको महत्व त्यतिबेला थाहा भएन त्यतिबेला नजलाएको भए आज आम सर्वसाधरणले विगतको पोखरा देख्न पाउने थिए ।’

काठमाडौबाट मास्टरको रुपमा पोखरा आएका स्व. जगन्नाथले वि.स २०१० सालदेखि नै व्यवसायिक फोटोग्राफीको सुरुआत गरेका थिए । उनी पोखराका पहिलो फोटोग्राफर तथा फोटोसामग्री निर्माता पनि हुन् । उनले खिचेका सयौ फोटो मध्ये केही फोटोमात्र त्यहाँ राखिएको छ ।

त्यस्तै २०१८ तिर अमेरिकी पिस कोर भोलेन्टियरहरुले नेपालको सामाजिक तथा शैक्षिक सहयोगको लागि आउँदा खिचेका तस्विरहरु समेत राखिएको छ भने २०१५ सालमा नेपाल भ्रमणमा आएका जापानी टोलीले खिचेका ३ हजार ६ सय तस्विरहरु समेत राखिएको छ जुन तस्विर जापानको मानव विज्ञान सङ्ग्राहलयमा समेत रहेका छन् ।

पछिल्लो समय पोखराको विकास हुँदै जाँदा प्राकृतिक संरचनाको भने विकास हँुदै गएको छ, प्राचीन पोखरा पुस्तकमा लेखिएको इतिहास भन्दा पनि फोटो इतिहास बढी महत्वपूर्ण छ ।

फोटो इतिहासलाई कसैले पनि पल्टाउन सक्दैन १० वर्ष अघिदेखि नै खोल्ने सोच बनाएका उनले सहयोगी र आफ्नो दाजुभाइको सहयोगमा अहिले आफ्नो सपना पूरा गरेका छन् । पोखराको इतिहास चिनाउँदै मानव विकास क्रममा आएको परिवर्तन समेत देखाउने उनले बताए । अझ रमाइलो पक्ष के छ भने पोखरामा फुटबल खेलको सुरुआत भएको फोटो समेत त्यहाँ भेटिन्छ ।

त्यसमा पनि पोखरामा सवारी आगमन हुँदाको ९ नम्बर ढुवाङ जुन पोखराको लागि निकै परिचित नाम हो । त्यतिबेला उक्त ढुवाङले पोखराको बगर देखि अहिलेको एयरपोर्ट सम्म जाने गर्दथ्यो । ‘जहाज गिरान जहाज गिरान’ भन्दै चल्ने ढुवाङले २५ पैसा भाडा लिने गरेको उत्तमले बताए ।

विं.स २००८ सालमा पोखरामा जहाज आएदेखि २३ सालमा आएको सवारी र त्यस बेला यातायातको रुपमा रहेको ठेलागाडाहरुको समेत तस्विर पोखरा ग्यालरीमा देख्न सकिन्छ । ग्यालरीमा ४०–६० वर्ष पुरानो फोटो तथा डकुमेन्ट्री राखिएको छ ।

पाँच लाख रुपैयाँको लगानीमा बनाइएको ग्यालरीमा टिकटको व्यवस्था पनि गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.