www.tandavnews.com
Fact ~ In search of truth

प्रभावकारी बन्दै पशु कृत्रिम गर्भाधान

hima aus

 

कास्की ।

स्थानीय जातका पशुको कृत्रिम गर्भाधान गरी नश्ल सुधार गर्न कृषक आकर्षित भएका छन् । परम्परागत पशुपालनबाट व्यावसायिकतामा फड्को मार्दै गरेको नेपालको पशुपालनमा कृतिम गर्भाधान सेवा विस्तार भएसँगै पशु गर्भाधानको लागि राँगो तथा साँढेको विकल्पमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ ।

नेपालमा विसं २०१७ बाट फ्रोजन सिमेन९वीर्य०बाट कृत्रिम गर्भाधानको कार्य आरम्भ भए पनि २०५० सालपछि मात्र यसले राजधानी बाहिर व्यावसायिकता लिएको बताइन्छ । गाउँगाउँसम्म प्राविधिकको पहुँच तथा गर्भाधानको लागि सिमेनको सहज उपलब्धताको कारणबाट पनि आफ्ना पशुमा कृत्रिम गर्भाधान गराउन कृषक आकर्षित भएको पाइन्छ ।

साविक जिल्ला पशु सेवा कार्यालय तथा हालको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीका अनुसार २०७०÷७१ मा जिल्लामा गाई नौ हजार १६९ र भैँसी चार हजार ८४२ वटा गरी कूल १४ हजार ११ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।

त्यस्तै २०७१÷७२ मा गाई १० हजार २०३ र भैँसी पाँच हजार २११ पुग्यो । आफ्ना पशुको कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढेसँगै २०७२÷७३ मा यो सङ्ख्या बढेर गाई १० हजार ५०८ तथा भैँसी पाँच हजार ५०७ पुग्यो ।

आर्थिक वर्ष २०७३÷७४ मा गाई ११ हजार ५९९,भैसी सात हजार ९२३ तथा वर्ष २०७४÷७५ मा गाई १४ हजार १६६ तथा भैँसी आठ हजार ५२३ वटा गरि कूल २२ हजार ६८९ वटामा कृत्रिम गर्भाधान गरिएको कार्यालयका प्रमुख तथा पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

classic tech

आर्थिक वर्ष चालु आर्थिक वर्षका मङ्सिर महीनासम्ममा गाई आठ हजार ११३ र भैँसी चार हजार १० गरी जम्मा १२ हजार १२३ पशुको कृत्रिम गर्भाधान गरिएको कार्यालयको तथ्याङ्क छ । कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुने तथा दूध उत्पादन पनि बढ्ने भएपछि किसान कृत्रिम गर्भाधानप्रति आकर्षित भएको अर्याल बताउछन् ।

“कृत्रिम गर्भाधानबाट दूध पनि बढी उत्पादन हुने, दुई÷तीन वर्षसम्म राँगो, साँढे पाल्ने झन्झट नहुने र नश्ल पनि सुधार हुनेभएपछि कृषक यसमा आकर्षित छन्” अर्यालले भने । जिल्लामा पशु गर्भाधानको लागि राँगो, साँढे पाल्ने चलन कहीँकतै बाहेक हराउँदै गएको र पछिल्लो समय बाख्रा तथा बङ्गुरमा पनि कृत्रिम गर्भाधान गर्ने अभ्यास शुरु गरिएको उनी बताउछन् ।

जिल्लाका देउराली, रुपाकोट, ल्वाङघलेल, शिशुवा, बिरौटा, माटेपानी, हेम्जा ढिकुरपोखरी, पामे, कृस्तिनाच्नेचौर र आर्वा गरी १५ स्थानबाट सेवा प्रदान गरिरहेको कार्यालयले बताएको छ । गर्भाधानको लागि जिल्लामा ३७ जना प्राविधिक जनशक्ति रहेको छ । यसमा संलग्न सरकारी १८ र निजी १९ जना प्राविधिकले कृषकको गोठ तथा फार्मसम्म पुगेर सेवा दिँदै आएका छन् ।

एउटा पशुमा गर्भाधान गराएको प्राविधिकले रु ३०० देखि एक हजारसम्म लिने गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठ बताउछन्।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा पालिएका गाईको जर्सी, होलिस्टेन, भैँसीको मुर्रा तथा बाख्राको बोयर र सानान जातको साँढे, राँगो तथा बोकाको हप्तामा दुई पटक वीर्य सङ्कलन गर्ने र सङ्कलित वीर्य प्रशोधन गरेर पशु सेवा कार्यालयमार्फत जिल्लाजिल्लामा किसानलाई गर्भाधानको लागि वितरण गर्ने गरिएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत शम्भु पाण्डे बताउछन् ।

प्रजनन केन्द्रले प्रतिडोज २५ रुपैयाँ राजश्व लिएर कृषकलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ । कार्यालयमा वर्षको छ लाख ५० हजार डोज वीर्य उत्पादन गरेर बिक्री वितरण हुँदै आएको पाण्डेको भनाइ छ । देशका ६६ जिल्लामा ९७३ गर्भाधान केन्द्रमार्फत एक हजार १४१ जना प्राविधिक पशुको कृत्रिम गर्भाधान कार्यमा आवद्ध रहेको बताइन्छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
covid 19 tandav