www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा भेटियो दुर्लभ ‘लोन्डेसी’ गुराँस

गलेश्वर ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए।

वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेको हो ।

अनुसन्धान टोलीमा संलग्न मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाका अनुसार हुमकला जङ्गलमा बढी मात्रामा यो प्रजातिको गुराँस देखिएको छ । उनका अनुसार समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने यो प्रजातिको गुराँस मुस्ताङ, मनाङलगायतका उच्च हिमाली भेगमा जङ्गलमा पनि नभेटिएको तर त्योभन्दा कमको नारच्याङको जङ्गलमा भेटिएकाले वातावरणविद्समेत आश्चर्यमा परेका छन् ।

पुर्जाका अनुसार यो गुराँसको बोटको उचाइ करीब पाँच सेन्टिमिटर मात्र हुने गर्छ । पहेँलो र गुलाबी मिश्रण भएजस्तो देखिने यसको रङ हुन्छ भने फूल अत्यन्त सानो हुन्छ ।नारच्याङको जङ्गलमा भेटिएको यस्तो दुर्लभ प्रजातिको गुराँसको संरक्षणमा वडा कार्यालयले अझै व्यापकरूपमा खोजी अनुसन्धान गर्ने र संरक्षणका उपाय अपनाइने वडाध्यक्ष फगामीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.