www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी करिडोरको लागी २० करोड बजेट

गलकोट ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्रिदेशीय सिधा सम्पर्कका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिण भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रुपमा विकास गर्ने उद्देश्य राखिएको कालीगण्डकी करिडोरमा बजेट अभावका कारण पछिल्लो समय काम हुन सकेको थिएन । बजेट नभएका कारण बागलुङ खण्डमा करिडोरको काम अगाडि बढ्न नसकेको भन्दै निरन्तर पहलभएपछि सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको सांसद डा .सूर्य पाठकले बताए ।

२० करोडमध्ये १० करोड रुपैयाँ बराबरको काम बागलुङ खण्डमा र १० करोडको काम गुल्मी खण्डमा हुनेछ । राष्ट्रिय गौरवका आयोजनालाई छिटो पूरा गर्ने सरकारको प्राथमिकता भएका कारण बजेट पार्न सफल भएको सांसद पाठकले बताए।

आगामी चैतदेखि वैशाखसम्म काम सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।

यो वर्ष सरकारले बजेट नदिएपछि बर्खाको पहिरोसमेत सेनाले आन्तरिक स्रोतबाट खर्च गरेर यातायात सञ्चालन गर्नसक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी करिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो ।

बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।

बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङ खण्ड कालोपत्रका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ ।

यो सडक आयोजनाले त्रिदेशीय व्यापार तथा पारवहनमा महत्व राख्ने हुँदा यसलाई थप व्यवस्थित बनाइ ट्रान्जिट रुटका रुपमा विकास गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गामा शनिबार १० मिटर चौडा पार्ने कार्यको शुभारम्भ अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ । रासस

तस्बिर गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.