www.tandavnews.com
Fact ~ In search of truth

बाख्रापालन :खर्च कटाएर वार्षिक पाँच लाख वचत

गलकोट ।

गलकोटका युवा विष्णु थापा र उहाँकी पत्नी रीता थापाले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका ती दम्पतीले बाख्रापालन गरेर मनग्य आम्दानी पनि गरेको छ ।

गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशीए पनि विष्णुलाई आफ्नै गाउँमा बसेर केही गर्ने सोच आयो । यहीँ केही गर्दा विदेशिने साथीभाइलाई पनि प्रेरणा मिलोस् भनेर विसं २०६८मा छ हजार रुपैयाँको लगानीमा शुरु गरिएको बाख्रापालन अहिले मुख्य आम्दानीको स्रोतका रुपमा रहेको थापा दम्पती बताउँछन् ।

अहिले थापाको बाख्रा फार्ममा ५० बाख्रामध्ये अधिकांश बोयर जातका छन् । “छिमेकीका श्रीमान् जापानलगायत अन्य मुलुकहरु हुँदा पनि आफ्नो श्रीमानलाई कहिल्यै विदेश जान आग्रह गरिनँ”, रीताले भने, “सबै विदेश–विदेश मात्र भन्छन्, हामी बाख्रापालन गरी स्वदेशमै रमाएका छौँ ।” सबै खर्च कटाएर वार्षिक पाँच लाख जति बचत हुने थापा बताउछन् ।

शुरुमा स्थानीय स्रोतसाधन उपयोग गरेर खोर निर्माण गर्नुभएका विष्णुले तत्तकालीन जिल्ला पशुसेवा कार्यालयको खोर सुधार कार्यक्रमअन्तर्गत प्राप्त भएको एक लाख ९० हजारले आधुनिक शैलीमा खोर बनाएका थिए । “बिउ बोका राख्ने, ब्याउने बाख्रा राख्ने, ब्याइसकेकालाई राख्ने, पाठापाठी राख्ने बेग्लाबेग्लै खोर बनाएका छौँ”, विष्णुले भने, “आम्दानी राम्रो हुँदै गएका कारण थप लगानी गर्ने सोचमा छु ।”

थापा दम्पतीको टोकरीमा प्रशस्त जग्गा भएका कारण घाँसपात र अन्नको कुनै समस्या नभएकाले बाख्रापालन व्यवसाय फस्टाएको हो । सानो रकमबाट बाख्रापालन शुरु गर्नुभएका विष्णुले अहिले झण्डै २० लाख रुपैयाँभन्दा माथिको सम्पत्ति जोडिसकेकोे बताउछन् । स्थानीय जातका बाख्रा हटाएर विस्तारै बोयर जातका बाख्राको सङ्ख्या वृद्धि गरेर १०० पुर्याउने ती दम्पतीको लक्ष्य छ ।

थापाको ‘घुम्टे बाख्रापालन’ फार्मलाई गलकोट नगरपालिकाले अनुदानमा एक बोयर जातको बीउ बोका प्रदान गरेको थियो । आफूले उत्पादन गरेका खसीबोका स्थानीय बजारमै खपत हुँदै आएको र उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको विष्णुले बताए। प्राविधिक रूपमा भने आफूलाई निकै समस्या हुने गरकाले यस्ता किसानलाई स्थानीय तहले बेलाबेलामा प्राविधिक तथा अन्य सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

विष्णुले बाख्रापालनसँगै दुई भैँसीसमेत पाल्नाका साथै गाउँका सामाजिक काममा समेत उत्तिकै सहभागी हँुदै आएका छन ।बसाइँसराइका कारण गलकोट मल्मका ८० प्रतिशत घर खण्डहरजस्तै छन् भने उर्वरभूमि बाँझो छ । त्यही उर्वरभूमिमा बाख्रापालन व्यवसायबाट थापा दम्पतीले गरेको उदारणीय काम विदेशिएका युवाका लागि प्रेरणादायी बनेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.