www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका सबै तहमा नेकपाको एकता कमिटि

म्याग्दी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ ।

चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताए ।

“पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ”, पौडेलले भने, “सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।”

बेनी नगर कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्वएमालेका राजकुमार थापा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्वएमालेका देउप्रसाद छन्त्याल चयन भएका छन् ।

मालिका गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्वमाओवादीका गोविन सिउथानी, मङ्गला गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्वमाओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका दीपक कार्की र सचिवमा पूर्वमाओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका खड्ग गिरी र सचिवमा पूर्वमाओवादीका पूर्ण पाइजा चयन भएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब एक वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.