www.tandavnews.com
Fact ~ In search of truth

जुत्ता पालिसकै लागि राजस्थान देखि पोखरा

उमा विक
पोखरा, ताण्डव न्यूज ।

भारत राजस्थानका आशाराम चमार । ४० वर्षदेखि जुत्तामा पालिस लगाउने, चुडिएका, उक्किएका जुत्ता चप्पल सिलाउने काम गर्दै आएका छन् । अहिले उनी ५२ वर्षका भए । १२ वर्षको सानै उमेरदेखि उनले यो काम सुरु गरेका हुन् ।

गरिब परिवार, पिछडिएको वर्ग, खेतीपाती गर्नु मात्रै उनीहरुको काम । उनका बाबाले उनलाई पढाउन सकेनन् । पुस्तौदेखि गर्दै आएको यही काम उनलाई उनका बाबाले सिकाए र उनले यही काम अगाली राखेका छन् ।

Batas

राजस्थान देखि पोखरा

झण्डै दुई वर्षदेखि उनी पोखराको पृथ्वीचोकदेखि थोरै माथि सभागृहचोक नजिकैको सडक पेटिमा बसेर जुत्ता चप्पल सिलाउने, पालिस लगाउने काम गर्दै आएका छन् ।

कमाउन कै लागि राजस्थान जयपुरका आशाराम पोखरा आएका हुन् । यही कामको लागि उनी पोखरा भन्दा अगाडि पन्जाव पनि पुगेका थिए । तर पन्जाव बसेर काम गर्दा कमाई नभएपछि उनले नेपाल आउने निधो गरे । नेपालमा पनि उनले पोखरालाई छाने र सिधै पोखरा आए ।

पोखरा नै किन आउनुभो भन्ने प्रश्नमा उनी भन्छन्, ‘पोखरा के बारेमा बहुत कुच सुना था, तो हम यही चले आए,’ उनी थप्छन्, ‘पोखरा अच्छा हे, पोखरा मे काम भि ठीकठाक हे, कमाई हे, यहाँका लोक ज्यादा अच्छा हे ।’
राजस्थानको मौसम पनि ठीक छैन । खेतीपाती गर्नलाई पानी नै पर्दैन यसले गर्दा खानको लागि नी धौधौ पर्छ, नेपालको मौसम उनलाई निकै राम्रो लाग्छ रे ।

‘हमारा लिए नेपाल ही विदेश’

उनको देशका ठाउँका मानिसहरु पनि जागिरका लागी विदेशिन्छन् तर उनको परिवारमा क्रण गरेर विदेश जाने अवस्था पनि थिएन । फेरि उनमा जुत्ता, चप्पल सिलाउने, पालिस गर्ने कामबाहेक अरु केही सिप पनि छैन् । उनको लागी नेपाल नै विदेश हो । सस्तोमा आउन जान सकिने र कमाई राम्रो हुने । उनी भन्छन्,‘ हम् जेसै गरिब आदमी कहाँ विदेश जा सक्ते, हमारा लिए नेपाल ही विदेश हे ।’

राम्रो कमाई

आशाराम पोखराको पृथ्वीचोकस्थित बसपार्कभित्रको सुकुम्बासीमा कोठा लिएर बसेका छन् । बिहान ७ बजे जुत्तामा लगाउने पालिस, ब्रस, धागो, चप्पल जुत्ता सिलाउने समान बाकसमा ठिकठाक पारेर पृथ्वीचोक स्थित पेटीमा आउँछन् । साँझ ७ बजे घर फर्किन्छन् ।

दिनमा यत्ति नै कमाई हुन्छ भन्ने हुँदैन । कहिले एक हजार रुपैयाँ हुन्छ । कहिलेकाँही पाँच सय हुन्छ । कम्तिमा नि २÷३ सय कमाई हुन्छ । कहिलेकाँही कत्ति पनि हुँदैन । जुत्तामा पालिस गरेकोे उनले ५० देखि ३ सय ५० रुपैयाँ सम्म लिने गर्छन् ।

फरकफरक कलरअनुसार सस्तो र महङगो पैसा लिन्छन् । एकसालमा १५ देखि ३० हजारसम्म जुत्ता पालिस गर्ने सामान किन्नको लागि खर्च हुन्छ । ‘खर्च तो कम हे लेकिन मेहनत ज्यादा हे’ उनी भन्छन्, ।

राजस्थानको चर्को गर्मी ठेगेका आशाराम यहाँ घामको ताप सजिलै सहन्छन् तर पानी प¥यो भने उनको कमाई ठप्पै हुन्छ । जत्ति हुन्छ त्यत्तिले नै गुजारा चलाउनै पर्छ उनलाई । ३ हजार कोठाका भाडा तिर्छन उनी । केही पैसा खान पिउनमा खर्च हुन्छ । २/४ सय बच्छ त्यसलाई जम्मा गर्छन् ।

उनको दुई छोरा दुई छोरी र श्रीमती छन् । छोराहरुलाई राजस्थानमै राखेर पढाएका छन् । छोरीलाई भने पढाउन सकेनन् । पहिला पढाउनलाई उनीसँग पैसा थिएन अहिले १८÷२० वर्षका भए छोरीहरु ।  आफूले पढ्न पाएनन् त्यसैले पनि छोराहरुलाई पढाएर राम्रो जागिर खुवाउने उनको इच्छा छ । ‘पढाउन सके सम्म पढाउने नसके यही काम सिकाउनुपर्र्छ,’ उनी भन्छन् ।

उनको लागि पोखरा सहर भनेको उनको कोठादेखि जुत्ता पालिस गर्ने सभागृहको सडकपेटी सम्म हो । उनलाई पोखरा घुम्न मन छ तर एक दिन पनि काम छोडेर घुम्न उनलाई पुग्दैन ।

बाटोमा बसेर काम गर्दा नगरपालिका आउँछ समान उठाएर लगिदिन्छ । तर गालीवाली,मारपिट नगर्ने उनी बताउँछन् । उनी उनकै भाषामा भन्छन्, ‘ज्यादा तङनै करते हे, लोक अच्छे हे यहाँका ।’ उनले नगरपालिकामा जरिवाना नी तिर्नुपरेको छ ।

उनी भन्छन्,‘पोखरा जस्तो राम्रो छैन राजस्थान ,’ भन्छन्,‘अव राजस्थान जायङ्गे तो वही जायङ्गे काम गरेङ्गे तो पोखरामे ही करेङ्गे और जगा नै जायङ्गे ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.