www.tandavnews.com
Fact ~ In search of truth

इलाका प्रशासन, मालपोत र नापी कार्यालय माग्न बागलुङका जनप्रतिनिध मन्त्रालयमा

बागलुङ ।

बागलुङ जिल्लाको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै जनप्रतिनिधिसहितको सर्वदलीय टोली काठमाडौँ पुगेको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याललाई भेट गरी मागपत्र बुझाइएको टोलीमा सहभागी ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । “गृहमन्त्री सकारात्मक हुनुहुन्छ, आफ्नो ठाउँबाट पहल लिन्छु भन्नुभएको छ”, अध्यक्ष घर्तीले भने । भेटमा गृहमन्त्री थापाले अन्य ठाउँबाट पनि माग आएको हुँदा अर्थलगायतका मन्त्रालयसँग समन्वय गरेर निर्णय लिइने बताएका थिए ।

गलकोटबाटै नागरिकता र राहदानी सेवा दिनका लागि इलाका प्रशासन कार्यालय तथा मालपोत र नापी कार्यालय स्थापनाको माग गरिएको हो । बिहीबार नै उक्त टोलीले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याललाई भेटी ती कार्यालय स्थापनाका लागि मागपत्र बुझाएको थियो ।

मन्त्री अर्याल पनि कार्यालय स्थापनाका लागि सकारात्मक रहेको टोलीका अर्का सहभागी गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए। “जनप्रतिनिधिका तर्फबाट हामीले मागपत्र बुझायौँ”, उनले भने, “दुवै मन्त्रीज्यूबाट सक्दो पहल गरिने प्रतिबद्धता आएको छ ।”

सर्वदलीय समितिका संयोजक फमलाल न्यूरेले छलफल सकारात्मक भएको र मन्त्रालय तहबाट आश्वासन पाइएको बताए । “बागलुङको भौगोलिक बिकटताका कारण गलकोटमा इलाका प्रशासन कार्यालय माग गरिएको हो”, उनले भने ।

जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवालगायतले गत फागुनदेखि नै कार्यालय स्थापनाका लागि पहल थालेका थिए ।सर्वपक्षीय छलफलको निर्णयपछि उक्त टोली माग लिएर केन्द्रमा पुगेको हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय स्थापना गर्नुपर्ने मागपत्रमा उल्लेख छ । स्थानीय तहमा नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा उपलब्ध छैन ।

गलकोट र ताराखोला क्षेत्रका सर्वसाधारणलाई नागरिकता बनाउन अहिलेपनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन कार्यालय जरुरी रहेको गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए ।

सदरमुकाम जिल्लाको छेउमा भएका कारण टाढाको भूगोलका बासिन्दालाई सरकारी कामकाजमा असुविधा छ । कार्यालय स्थापना भए सदरमुकामदेखि ४५ किमीको दूरीमा रहेको गलकोट र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । जिल्लाको पश्चिम बुर्तिबाङमा भने यसअघि नै एकीकृत सेवा केन्द्रमार्फत नागरिकता, राहदानीलगायत सेवा उपलब्ध भइरहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.