www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा कमी

कास्की ।

कास्कीमा आर्थिक वर्ष २०७५÷७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।

तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ८२ वटा सवारीसाधन दुर्घटना हुँदा ८० जना घाइते भएका थिए । आर्थिक वर्ष २०७४÷७५ मा ७९ सवारीसाधन दुर्घटनामा परी ८८ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको सङ्ख्या पनि बढेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा नियम उल्लङ्घन गर्ने ६४ हजार २०० चालक कारवाहीमा परेका थिए । आर्थिक वर्ष २०७४÷७५ मा ५१ हजार ५०१ चालकलाई कारवाही गरिएको थियो ।ट्राफिक नियमको उल्लङ्घन, कमजोर सडक संरचना र सीमित क्षेत्रमा बढ्दो सवारी चापका कारण दुर्घटना बढेको प्रहरी नायब निरीक्षक जीतजङ्ग कार्की बताउँछन् ।

“हामीले दुर्घटना न्यूनीकरणका लागि विद्यालय र बस्तीमा पुगेर सचेत गरिरहेका छौँ । मापसेमा पनि कडाइ गरेका छौँ”, उनले भने । दुर्घटनामा कमी ल्याउन चालक जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति आवश्यक भएको उनको भनाइ छ ।

एक वर्षको अवधिमा जथाभावी पार्किङ गरिएका दुई हजार ९०० सवारीसाधनमा ह्विल तथा चेन लक लगाइएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा नियम विपरीत सवारीसाधन चलाएबापत चार करोड ४७ लाख ३७ हजार राजश्व सङ्कलन गरिएको छ ।

पर्यटकीय शहर पोखरामा बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको कार्कीले बताए । जिल्लामा ८८ ट्राफिक जनशक्ति रहेको छ । एक जना ट्राफिकले दुई हजार ४७७ सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ । जिल्लामा हालसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या दुई लाख पाँच हजारभन्दा बढी रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.