www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम

पोखरा ।

नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालीम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

चिनियाँ पर्यटकले अङ्ग्रेजी भाषा नबोल्ने तथा नेपाली पथप्रदर्शकले उनीहरुको भाषा नबुझ्दा समस्या आइरहेको अवस्थामा अब पर्यटकसँग आफूहरु ढुक्कसँग कुराकानी गर्न सक्षम भएको तालीममा सहभागी विपीनराज सापकोटाको भनाइ छ ।

नेपालमा वार्षिक दुई लाख चिनियाँ पर्यटक नेपाल आउने तथ्याङ्क छ । नेपाल आएकामध्ये ९० प्रतिशत पर्यटकले पोखराको भ्रमण गर्ने गरेको दाबी पर्यटन व्यवसायीको छ । नेपालमा पथप्रदर्शक तथा सहयोगी गरी १२ हजार मजदुर पर्यटन क्षेत्रमा क्रियाशील रहेको युनिट्राभले जनाएको छ ।

गत साउन १८ गतेदेखि शुरु भएको तालीममा आधारभूतमा ३५ र ‘एडभान्स’मा २५ जना गरी ६० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई दिनेश गौतमले चिनियाँ भाषाको प्रशिक्षण प्रदान गरेका थिए ।

तालीम समापन समारोहमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले पर्यटन विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए।

देशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनिवार्य रहेको भनाइ मन्त्री लम्सालको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.