www.tandavnews.com
Fact ~ In search of truth

सागः महिला क्रिकेटमा नेपाललाई कास्य पदक

पोखरा ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।

सागमार्फत महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा शुरुआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव तीन ओभरमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा आठ रनको योगफल तयार गरेको थियो ।

Batas

जीतका लागि सामान्य लक्ष्य पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले आफ्नो चार ओभर बलिङमा जम्मा एक रन खर्चेर चार विकेट लिन सफल भइन् ।

नेपालका लागि रोमा थापाले पाँच तथा काजल श्रेष्ठले दुई रन जोडिन् । बाँकी दुई रन भने वाइडमार्फत प्राप्त भएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दैै आगामी दिनमा धेरैभन्दा धेरै ‘म्याच एक्सपोजर’ पाएको खण्डमा श्रीलङ्का, बंगलादेश जस्त टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई समेत जित्न सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताउँदै आउने दिनमा गल्ती कमजोरी हटाउँदै राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता जनाए । माल्दिभ्स टोलीका कप्तान जोना मारियमले आफूहरु पहिलो अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागी भएकाले यसबाट सिक्ने अवसर मिलेको बताए।

सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतबार श्रीलंका र बंगलादेशबीच स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार राष्ट्रले सहभागिता जनाएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.