www.tandavnews.com
Fact ~ In search of truth

अब रुपाकोट रिसोर्टसम्म पर्यटक लक्षित यातायात सेवा

पोखरा ।

पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ्रे, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताए ।

पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो । रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताए ।

फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ छ-छ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

रुपाकोट रिसोर्टको पाँचौँ वार्षिकोत्सव

रुपाकोट रिसोर्टले सञ्चालनको पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका बीच बिहीबार मनाएको छ । सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले पर्यटकीय नगरी पोखरा र पर्यटनको पर्याप्त सम्भावना बोकेको रुपाकोट जोडिनु अपरिहार्य भएको बताए ।

रुपाकोट रिसोर्टले यहाँको पर्यटकीय पहिचानमा महत्वपूर्ण योगदान गर्नुका साथै पूर्वाधार विकासलगायतमा प्रेरणा दिएको बताए । बेलायती राजकुमार चाल्र्सले यही क्षेत्रमा पदयात्रा गरेको बताउँदै उनले उक्त पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने कार्यमा गाउँपालिका लागेको बताए।

पानी, बाटोलगायतका अत्यावश्यकीय पूर्वाधार एवं आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिका लागेको बताउँदै उनले समाजमा केही गर्छु भन्ने सोचका जो कोहीलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रिसोर्टका सञ्चालक अधिकारीले २०० रोपनी क्षेत्रमा रिसोर्ट रहेको बताउँदै विदेशी राष्ट्रका राष्ट्र प्रमुख एवं अन्य अतिविशिष्ट स्तरका पाहुनालाई राख्न सक्ने गरी सुविधासम्पन्न ‘स्वीटरुम’लगायतका पूर्वाधार निर्माण भइरहेको बताए । हाल जारी पूर्वाधार निर्माणका कामलाई सम्पन्न गरिसक्दा एक अर्ब लगानी हुने उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.