www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा पनि रोकिएन पदयात्रा

पोखरा ।

कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनलाई उल्लंघन गरी पदयात्रामा जान प्रहरीले प्रतिबन्ध लगाएको छ । यसका लागि प्रहरी परिचालन समेत गरिएको छ ।

चर्चित माछापुच्छ्रे नमूना पदयात्रा मार्गमा बन्दाबन्दीको समयमा समेत पदयात्री पुगेपछि सामाजिक दूरी भङ्ग भई सङ्क्रमण फैलनसक्ने त्रासका कारणले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि तथा सुरक्षाकर्मीले सो क्षेत्रमा गस्ती गरेका हुन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को टुसेबाट एक दिनको पैदलयात्रापछि हिलेखर्क हुँदै खुमै र कोर्चन क्षेत्रमा सो टोली पुगेर त्यहाँ रहेका केही व्यक्तिलाई सम्झाइबुझाइ गरेर फिर्ता पठाइएको बताइन्छ ।

Batas

समद्री सतहबाट तीन हजार ७०० मिटर उचाइमा अवस्थित रमणीय कोर्चनमा लकडाउनका बेला पोखरा तथा गाउँपालिकाका विभिन्न वडाबाट समेत पदयात्राका लागि मानिस पुग्ने र त्यहीँ बास बस्ने गरेको सूचनापछि भलावोट तथा सार्दिखोला प्रहरी चौकीका सुरक्षाकर्मीसहितको सात सदस्यीय टोली बिहीबार बिहान अनुगमनमा गएर शुक्रबार साँझ मात्र फिर्ता भएको थियो ।

लकडाउनले सबै क्षेत्र ठप्प भएको अवस्थामा गाउँमा आएका युवायुवती तथा शहरका मानिसले समेत अहिलेको अवस्थालाई पदयात्रामा उपयोग गरेपछि पदयात्रामार्गमा भीडभाड बढेपछि स्थानीयवासी त्रसित थिए । एक्यापअन्तर्गतको इलाका सरक्षण कार्यालय ल्वाङ, संरक्षण क्षेत्र व्यवस्थापन समिति माछापुच्छ्रेका सचिव अनुप गुरुङले सुरक्षाकर्मीले पदयात्रामार्गको खुमै तथा कोर्चनसम्म पुगेर त्यहाँ रहेकालाई फिर्ता पठाएको र लकडाउन नहटेसम्म पदयात्रामा जान प्रतिबन्ध लगाएको बताए ।

‘यहाँ पदयात्रा नर्गनुहोस् भनेका छैनौँ तर अहिलको विषम परिस्थितिमा पदयात्रा गर्ने र मानिस भेला हुँदा सामाजिक दूरी भङ्ग भई महामारीले विकराल रूप लिनसक्ने भएकाले ट्रेकिङ जानेलाई रोकेका हौँ । अरु बेला हामी पर्यटकको स्वागतमा छौँ’, उनले भने । चैत ११ गतेपछि जारी लकडाउका अवधिमा एक हजार २०० जति व्यक्तिले सो क्षेत्रमा पदयात्रा गरेको अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका, वडामा रहेका संरक्षण व्यवस्थापन समिति तथा सुरक्षाकर्मीले अहिले निगरानी बढाएको र कोही व्यक्ति पदयात्राका लागि आएमा तथा माथि लेकतिर गएको जानकारी पाएको गाँउपालिकामा खबर गर्न वडाहरुमा आग्रह गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए।

लकडाउनका बेलामा मानिस आउन नदिनका लागि पदयात्राको प्रवेशद्वारहरुमा जनप्रतिनिधि, सुरक्षाकर्मी तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका सदस्यहरुले निगरानी बढाइएको बताइन्छ ।

माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ को टुसे र वडा नं ९ को सिदिङबाट माछापुच्छ्रे नमूना पदयात्रामार्ग शुरु हुन्छ । पदयात्रामार्गको कोर्चनबाट मर्दी हिमाल बेसक्याम्प तथा माछापुच्छ्रे बेसक्याम पुग्न सकिन्छ । हिमशृङ्खला, वन जङ्गल, झरना तथा सुन्दर बस्तीहरुको दृश्यावलोकनका लागि सो पदयात्रामार्ग परिचित छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.