www.tandavnews.com
Fact ~ In search of truth

पोखरा सडकका खाल्डाखुल्डी पुर्दै ‘जागौँ पोखरा’

पोखरा ।

पोखराका सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना निम्त्याइरहेको अवस्थालाई ध्यान दिँदै ‘जागौँ पोखरा’ अभियान खाल्डाहरु पुर्न सक्रिय बनेको छ । अभियानका सदस्य यतिबेलामा ट्रकभरि पुरुवा माटो, गेग्य्रानसहित हातमा बेल्चा लिएर खाल्डाखुल्डी पुर्न व्यस्त देखिन्छन् ।

अभियानका संयोजक शिवराज बस्ताकोटीले सडकका कारण दिनहुँ दुर्घटना बढ्न थालेपछि खाल्डाखुल्डी पुर्ने अभियानमा सक्रिय बनेको बताए । उनले सुन्दर शहरको बेरुप अवस्थाले पोखरेलीलाई नै लज्जित बनाएको जनाउँदै आफूहरुले सचेत नागरिकको कर्तव्य पूरा गरेको स्पष्ट गरे ।

Batas

अभियानकर्मी दीपक आचार्यले सडक जस्ता संवेदनशील क्षेत्रमा राज्य उदासीन भएको आरोप लगाए । ‘जनप्रतिनिधि चिल्ला गाडीमा सवार हुन्छन्, सेवासुविधाको भोगचलनमा मात्र अग्रसर हुनेहरुले जनताको सास्ती बुझ्न सकेनन्’, आचार्यले भने, ‘सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना बढिरहेको छ । यसतर्फ सम्बन्धित निकायको चासो नबढ्नु दुःखद् हो ।’ उनले एक नागरिकका रुपमा आफूहरु सडकमा आएको र यस कार्यलाई निरन्तरता दिइने बताए ।

पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले महानगरले सडक स्तरोन्नतिका लागि काम शुरु गरेको जानकारी दिए । उनले भने ‘महानगरले अक्सपाल कंक्रिट (बाक्ला पिच)का लागि केही क्षेत्र छुट्याएर इलाइट कम्पनीलाई जिम्मा दिइसकेको छ । कोरोना कहरले केही ढिला हुन गएको हो ।’

काफ्लेका अनुसार करीब १५ करोड लागतमा पोखराका सभागृह, महेन्द्रपुल, अमरसिंह, पालिखेचोक, पिएन क्याम्पस र तल्लोदीप क्षेत्रका सडक मर्मतका लागि कम्पनीसँग सम्झौता गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.