www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

पोखरा ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मातहतका ११ वटै जिल्लामा कात्तिक १ गते हिजैदेखि लागू हुने गरी विस्तृत सुरक्षा योजना सार्वजनिक गरेको हो ।

Batas

योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा समितिसमेत बनाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य लक्ष्य राखिएको सो योजनाले संक्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ट मापदण्ड कार्यान्वयन गर्ने÷गराउने उनले बताए ।

उक्त योजनाअन्तर्गत सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, सवारी साधन दुर्घटनालाई न्यून गर्ने, राजमार्गमा हुने सवारी साधन दुर्घटना कम गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने, उद्धार र कारबाहीमा संलग्न हुनेलगायत विषय समेटिएको छ ।

शहरी तथा ग्रामीण सडकखण्डमा सवारी साधनको छतमा यात्रु चढेर यात्रा गर्ने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनेलगायत गतिविधि नियन्त्रण गर्न थप जाँचको व्यवस्था गर्ने, सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला र प्रवेश नाकामा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सहजता कायम गर्ने लक्ष्य राखिएको छ ।

यात्रु सहायता कक्षमा ३८ ट्राफिक प्रहरी परिचालन गरिने कार्कीले जानकारी दिए । विपद् उद्धार कार्यमा परिचालन हुने गरी १२ समूह बनाई ५६ जना परिचालन गरिएको उनले उल्लेख गरे । सबै जिल्लामा २८५ ट्राफिक प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन गरिने कार्कीले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.