www.tandavnews.com
Fact ~ In search of truth

ट्रेन्डिङमा उक्लियो प्रकाश सपुतको ‘फुटेका चुरा’

बागलुङ ।

सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ ।

गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र संगीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका छन् । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन् ।

Batas

कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसंगबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको सांगीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताए ।

‘गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ’, गायक सपुतले भने, ‘राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।’ गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उहाँका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन् । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छन् । चलचित्रको अहिले छायांकन भइरहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.